निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसाय सकसमा परेको बताएका छन् । सोमबार नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कांग्रेस निकट निर्माण व्यवसायीहरूको राष्ट्रिय भेलामा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष सिंहले समस्या समाधानका लागि नियमावली संशोधनका लागि सरकारलाई सुझाव दिएको तर त्यसको कुनै सुनुवाइ नभएको बताए । उनले सरकारले निर्माण व्यवसायीको समस्या सम्बोधनका लागि पहल नगरेको गुनासो गरे । उनले व्यवसायीहरूसँग छलफलै नगरी सरकारले संशोधित नियमावली ल्याउन लागेकाले निर्माण व्यवसायीहरूको समस्या समाधान हुनेमा ढुक्क हुन नसकिने बताए । उनले सरकारले व्यवसायीहरूको साझा धारणा पहिल्याएर नियमावली संशोधन नगर्दा पटक पटक संशोधन गर्नुपर्ने अवस्था आएको आरोप लगाए ।
उनले भने, ‘निर्माण व्यवसाय सकसमा परेको छ । हामी नेपाली कांग्रेससँग आबद्ध निर्माण व्यवसायीहरू अहिले हामीले नेपाली कांग्रेस सरकारमा सहभागिता भएपनि हामीले हाम्रा समस्याहरू सरकारसम्म पुर्याउनलाई हामीलाई अत्यन्त सकस छ । हामीले धेरै प्रयत्न गरेपनि हाम्रा अवाजहरु हाम्रा समस्याहरूलाई सरकारले सम्बोधन नगरी दिएको कारणले गर्दा र हाम्रो यो सार्वजनिक खरिद ऐन, नियम, एसबिडीलगायत निर्माण उद्योगमैत्री पूर्वाधारमैत्री नभएको कारणले गर्दा निर्माण उद्योग अत्यन्त संकटमा छ ।’
अध्यक्ष सिंहले अर्थतन्त्रलाई चलायमान बनाउने निर्माण व्यवसायी देशको समृद्धिको संवाहक भएको बताए । उनले केही उद्योगहरूले गरेको कार्टेलिङलाई सरकारले प्रोत्साहन गरेको आरोपसमेत लगाए ।


विश्व खबर 




















