images
images
  • सार्वजनिक लेखा समितिद्वारा उजुरी अध्ययनको लागि सात वटा उपसमिति गठन

    सार्वजनिक लेखा समितिले उजुरी अध्ययनको लागि उपसमिति बनाएको छ । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले समितिमा परेका उजुरीहरू विभिन्न विषयहरूमा वर्गीकरण गरेर अध्ययन छलफल गर्ने भएको हो ।

    बैठकले सात वटा उपसमिति बनाएर छलफल गर्ने निर्णय गरेको समिति सभापति ऋषिकेश पोखरेलले बताए । समितिमा परेका सबै उजुरीहरूलाई समान प्राथमिकता दिएर छलफल गर्न उपसमिति बनाएर छलफल गर्ने उनले जानकारी दिए । समितिले उजुरी अध्ययन कार्यदल भनेर नामाकरण गरेको उपसमितिले १५ दिनभित्र सबै उजुरीको निर्णय गरिसक्ने बताएको छ । कार्यदलले निर्णय गर्नुअघि समितिको सचिवालयले ७ दिनभित्र उजुरी सम्बन्धी प्रतिक्रिया लिने पनि निर्णय गरेको छ ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे परेको उजुरीमाथि पनि १५ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । समितिमा २० वटा शीर्षकमा उजुरी परेको उनले जानकारी दिए । समितिमा परेको उजुरीका आधारमा नेपाल टेलिकम, दूरसञ्चार प्राधिकरण, सहरी विकास मन्त्रालय, सहकारी, वैदेशिक रोजगार, धितोपत्र बोर्ड, स्वास्थ्य मन्त्रालय, क्रसर उद्योग, केन्द्रीय अनुसन्धान ब्युरो, नेपाल स्काउट, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विषयमा परेका उजुरीको अध्ययन र छलफल गरी निर्णय सिफारिस गर्न कार्यदललाई अधिकार दिइएको सभापति पोखरेलले बताए ।

    लेखा समितिमा विभिन्न शीर्षकमा ११४ बढी उजुरी परेका छन् । समितिमा परेका उजुरीलाई विभिन्न २० शीर्षकमा वर्गीकरण गरेर ४८ वटा उजुरीलाई कार्यदलमार्फत अध्ययन र छानबिन गर्ने भएको हो । समितिमा विषयगत रूपमा छुट्टाइएका उजुरी बाहेकका १६ वटा उजुरीमाथि अध्ययन गरेर निर्णय सिफारिस गर्न नेपाली का‌ग्रेसका सांसद सञ्जयकुमार गौतमको संयोजकत्वमा कार्यदल बनाएको छ ।

    सार्वजनिक लेखा समितिमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नियम विपरीत कार्य गरेकोदेखि व्यवसायीहरूले सिमेन्ट र डण्डीमा मूल्य वृद्धि गरी कालोबजारी गरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले उजुरी दर्ता गराएका छन् । समितिमा एमसिसीको नेपाल कार्यालयले विद्युत् प्रसारण लाइन निर्माणको परामर्श सेवामा अनियमितता र भ्रष्टाचार गरेको सम्मको उजुरी परेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images