काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको गृहकार्यलाई तीव्र पारिरहेको बेला नेपाल उद्योग परिसंघले पर्यटन उद्योग केन्द्रित पूर्वबजेट छलफल कार्यक्रम गरेको छ ।
राजधानीमा भएको पूर्वबजेट छलफल कार्यक्रममा परिसंघका अध्यक्ष राजेश अग्रवालले पर्यटन क्षेत्रमा विकासका लागि सरकारले प्रभावकारी कदमहरू चाल्नुपर्ने बताए । उनले पर्यटन विकासका लागि एक मात्र राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम बलियो हुनुपर्ने धारणा राखे । वायुसेवा निगम प्रतिस्पर्धी बन्न नसक्दा विदेशी विमान कम्पनीहरूले लाभ लिइरहेका र पर्यटकका लागि नेपाल गन्तव्य निकै महँगो बनिरहेको उनको भनाई छ । राष्ट्रिय ध्वजावाहकलाई बलियो बनाउन निगमको सुधार तथा बिस्तार गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन रणनीतिक साझेदार भित्र्याउन अति आवश्यक भइसकेको उनले बताए ।
अध्यक्ष अग्रवालले युरोपका पर्यटक धेरै खर्च गर्ने मध्येमा परेपनि युरोपियन युनियनले नेपाललाई सन् २०१३ देखि हवाई सुरक्षा सूचीमा समावेश गरेदेखि युरोपेली देशसँग सिधा हवाई सम्पर्क टुटेको बताए ।
अध्यक्ष अग्रवालले अर्बौं लगानीमा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपनि यी विमानस्थलहरूको प्रभावकारी सञ्चालन हुन नसकेको बताए । उनले यी विमानस्थल सञ्चालनका लागि बजेटमार्फत नै भएपनि विशेष सहुलियतको व्यवस्था गरी प्रभावकारी रूपमा सञ्चालन हुने व्यवस्था गर्न आवश्यक रहेको बताए ।
वायुसेवा सञ्चालक संघका आर्य थापाले विगत दुई वर्षमा कोरोना महामारीका कारण करिब साढे सात महिना नियमित हवाई सेवा सञ्चालन पूर्णरुपमा बन्द हुँदा नेपालका वायुसेवा कम्पनीहरू गम्भीर आर्थिक समस्याबाट गुज्रिरहेका बताए । उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नागरिक उड्डयन क्षेत्र कोभिड महामारी सुरु हुनुअघिको लयमा फर्कन कम्तिमा सन् २०२४ सम्म लाग्ने र कोभिड महामारीको आर्थिक तथा सामाजिक असरहरू दीर्घकालसम्म रही रहने आँकलन गरेको अवस्थामा नेपालका हवाई क्षेत्रले हालसम्म करिब १० अर्बभन्दा बढी रकम गुमाइसकेको बताए ।
पूर्वमन्त्री उदयसमशेर जबराले नेपाल आउनदेखि ट्राभल गर्नसम्मै महँगो रहेपनि नेपाल आइससकेपछि सस्तो रहेको बताए । उनले भने,‘नेपाल आउन महँगो, आइसकेपछि पनि ट्राभल गर्न महँगो तर यहाँ आइसकेपनि सबै सस्तो । जुन किसिमको होटल नेपालमा छ । जुन रेट हामीले लगाइरहेका छौँ । अरुदेशभन्दा यहाँ सस्तो छ ।’
पर्यटन सचिव विनोदप्रकाश सिंहले पर्यटन उद्योगमा संसारभरि भ्याट रहेको बताउँदै नेपालमा समेत लगाइएको बताए ।
उनले भने, ‘पर्यटन उद्योगमा संसारभरि भ्याट लगाइने रहेछ, नेपालमा मात्रै होइन । अन्तर्राष्ट्रिय हवाई उडानमा धेरै ठाउँमा कम रहेछ । विश्वमा आन्तरिकतर्फ २० प्रतिशतसम्म भ्याट लगाइने रहेछ तर हाम्रो जस्तो देशमा हवाई यातायात असहजसँगै महँगो पनि छ ।’ उनले पर्यटन उद्योगीहरूले उठाएको मागलाई मन्त्रालयले अंगिकार गर्ने समेत बताए ।


विश्व खबर 




















