
सिन्धुपाल्चोक : करिब आठ महिनादेखि तातोपानी भन्सार कार्यालयमा एक हजार ३०० मेट्रिक टन रासायनिक मल गोदाममा थन्किएर बसेको छ। भन्सार कार्यालयको खुला गोदाममा थन्किएको ५० किलोका दुई हजार ६०० बोरा मल काम नलाग्ने अवस्थामा पुगेको छ।
बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, कृषि सामग्री केन्द्र र आयातकर्ता बिच मूल्य यकिनमा विवाद हुँदा सो रासायनिक मल भन्सार कार्यालयमै रोकिएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका भन्सार अधिकृत सूर्यप्रसाद काफ्लेले जानकारी दिए। सिनोम्याक्सरसिल्क मार्केट र अर्को एक फर्मको जोइनभेन्चरमा चीनबाटमल आयात भएको थियो।
गत वर्ष पनि करिब डेढ वर्षसम्म त्यत्ति नै परिणामको मल थन्किएको थियो। आयातकर्ता र कृषि सामग्री केन्द्रबिच आपसी समझदारीमा मल राजधानी पठाइएको थियो तर यस पटक भने लामो समयसम्म केन्द्र र आयातकर्ताबिच विवाद नटुङ्गिएपछि मल थन्किएको छ।
आयातकर्ता र केन्द्रबिच मलको मूल्यको विषयलाई लिएर उच्च अदालतमा मुद्दा परेको थियो। अदालतले दुवैलाई मध्यमार्गी बाटो अपनाएर मलको विषय टुङ्गाउन आदेश दिएको छ। अदालतको आदेशबमोजिम केन्द्र र आयातकर्ताले समन्वयात्मक बाटोबाट समस्या समाधान गरेर मल राजधानी पठाउनुपर्ने छ तर अहिलेसम्म उनीहरू बिच समन्वयसमेत हुन सकेको छैन। त्यसकारण मल भन्सारकै गोदाम थन्किएको छ भने यत्ता कृषक मल अभावमा बालीमा प्रयोग गर्न पाएका छैनन्।
केन्द्रले सिनोम्याक्सरसिल्क मार्केट र अर्को एक फर्मलाई मल आयातका लागि ठेक्का दिएको थियो। तातोपानी भन्सारले मल जफत गरेर राजधानी पठाउन पनि सकेको छैन। जाँचपास गर्नेबाहेक भन्सार कार्यालयलाई जफत गर्ने अधिकार नदिएको भन्सार कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्