काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर कारोबारमा हुने चलखेल रोक्न नयाँ प्रावधान लागू गर्ने भएको छ । धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रस्तावमा सूचीकृत कम्पनीहरुको सेयर कारोबार बन्द हुने अन्तिम १५ मिनेटको कारोबारलाई औसत मानेर भोलिपल्टको ‘ओपनिङ’ मूल्य तोक्ने व्यवस्था गरेको छ ।
धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले यो विषय पारित गरेर कार्यन्वयनका लागि नेप्सेमा पठाइसकेकोे बोर्डका प्रवक्ता निरन्जय घिमिरेले जानकारी दिए । नेप्सेको प्रस्तावमा बोर्डले सेयर बजारमा हुने चलखेल रोक्न अन्तिम १५ मिनेटको कारोबारलाई औसत मानेर भोलिपल्टको ‘ओपनिङ’ मूल्य तोकिने व्यवस्था लागू गर्न स्वीकृति प्रदान गरेको उनको भनाई छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले यस सम्बन्धीको विनियमावली परिमार्जन गर्दै अन्तिम १५ मिनेटको मूल्यलाई भारित औसत मूल्य निर्धारण गर्ने प्रस्ताव धितोपत्र बोर्डमा पठाएको थियो । उक्त प्रस्ताव धितोपत्र बोर्डबाट स्वीकृत भएको हो । हाल सेयर कारोबार बन्द हुँदाको समयको सेयर मूल्यका आधारमा (क्लोजिङ प्राइस) भोलिपल्टको ओपनिङ मूल्य निर्धारण हुँदै आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीले यस सम्बन्धी विनियमावलि धितोपत्र बोर्डबाट स्वीकृत भइसकेकाले अब नेप्सेको बोर्ड बैठकले कहिलेदेखि लागू गर्ने भन्ने निर्णय गर्ने जानकारी दिए । कम्पनीको भोलीपल्टको ओपनिङ मूल्य बढाउन सेयर कारोबारमा अन्तिम मिनेटमा व्यापक चलखेल हुँदै आएकाले यसलाई नियन्त्रण गर्न नेप्सेले अन्तिम १५ मिनेटको कारोबार आधार मानेर औसत मूल्य निकाल्ने र त्यसलाई भोलीपल्टको ओपनिङ मूल्य तोक्ने व्यवस्था गर्न लागेको उनको भनाई छ ।
नेप्सेका अनुसार अब केही साताभित्र नै यो नियम लागू हुनेछ । कारोबार व्यवस्थापन प्रणाली टीएमएसमा परीक्षण गरेपछि यसलाई कार्यन्वयनमा ल्याइनेछ । परीक्षण गर्न केही समय लाग्ने भएकाले १२ देखि १५ दिनभित्रमा कार्यन्वयनमा आइसक्ने उनको भनाई छ । यो व्यवस्थापछि अब अन्तिम समयमा सेयर कारोबारमा हुने चलखेल रोकिने नियामक तथा लगानीकर्ताहरुको बुझाइ छ ।


विश्व खबर 



















