images
images
  • कर्जाको मागमा सुधार आएसँगै निक्षेप संकलनमा भन्दा एसडीएफमा लगानी बढाउँदै बैंकहरु

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्न नसकेको रकम राष्ट्र बैंकले जारी गर्ने लामो अवधिका भन्दा छोटो अवधिका उपकरणमा लगानी बढाउन थालेका छन् । पछिल्लो समयमा बैकिङ प्रणालीमा कर्जाको माग आउन थालेपछि बैंकहरुको निक्षेप संकलन भन्दा पनि स्थायी निक्षेप सुविधा (एसडीएफ) मा लगानी बढाएका छन् ।

    केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण ७ देखि २२ दिन सम्मका लागि रकम लिने गरेको छ भने स्थायी तरलता सुविधा (एसडीएफ) ३ दिनका मात्र दिने गरेको छ । वित्तीय प्रणालीमा विस्तारै कर्जाको माग बढ्न थालेपछि बैंकहरुले लामो अवधिमा भन्दा पनि छोटो अवधिमा लगानी गरेर तरलता व्यवस्थापन गर्न थालेका हुन ।

    नेपाल राष्ट्र बैंकले अन्तर बैंकर ब्याजदर ३ प्रतिशत भन्दा तल जान नदिन निक्षेप संकलन उपकरण मार्फत तरलता प्रशोचन गर्ने गर्छ । निक्षेप संकलनमा बोलकबोल मार्फत ब्याजदर निर्धारण गरिन्छ । पछिल्लो समयमा जारी भएका अधिकांस निक्षेप संकलन उपकरणमा बैंकहरुले ३ प्रतिशत ब्याजदर माग गरेर आवेदन गर्ने गरेका छन् ।

    फागुन १८ गते आइतबार नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि २५ अर्ब रुपैयाँ संकलन गर्न चाहेकोमा बैंकहरुले १४ अर्ब ७० करोड मात्र बुझाएका छन। जसको ब्याजदर ३ प्रतिशत कायम भएको छ । यसअघि फागुन १३ गते पनि २२ दिने अवधिको २५ अर्बको निक्षेप संकलनको बोलकबोल भएकोमा बैंकहरुले ९ अर्ब ८० करोड मात्र राखेको थिए । जसको ब्याजदर पनि ३ प्रतिशत नै कायम भएको थियो । त्यसअघि फागुन ११ गते ३० अर्ब तान्न खोज्दा बैंकहरुले १६ अर्ब २० करोड मात्र जम्मा गरेका थिए ।

    केन्द्रिय बैंकले फागुन महिना सुरु भएपछि ५ पटक निक्षेप संकलन आह्वान गरेको छ । ५ पटक नै बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैकले मागेजति रकम दिएका छैनन् । तर, बैंकहरुले ३ दिने अवधिको स्थायी निक्षेप सुविधामा भने लगानी बढाएका छन् । फागुन १८ गते आइतबार मात्रै बैंकहरुले एसडीएफमा ८९ अर्ब १५ करोड रुपैयाँ लगानी गरेका छन् ।

    यसअघि फागनु १५ मा ७० अर्ब ६० करोड, फागुन १३ मा ६२ अर्ब ४० करोड एसडीएफ राखेका थिए । यसरी बैंकहरुको निक्षेप संकलन उपकरणमा लगानी रकम घटाउँदै लग्ने तथा एसडीएफमा बढाउँदै लगेकाले पछिल्लो समयमा कर्जाको माग बढ्न थालेको तथा कर्जा विस्तार हुने क्रममा रहेको देखिन्छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार फागुन १७ गतेसम्म बैंकिङ प्रणालीमा ८४ अर्ब ६७ करोड रुपैयाँ अधिक तरलता रहेको छ । यस अघि बैंकहरुले निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकमा राखेको १ खर्ब ४४ अर्ब २५ करोड तथा एसडीएफको ८९ अर्ब १५ करोड गरेर कुल २ खर्ब ३३ अर्ब ४० करोड बैंकहरुमा फिर्ता हुन बाँकी नै रहेको छ ।

    राष्ट्र बैंकका अनुसार हालसम्म बैंकहरुले ६७ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५४ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकहरुको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७९.६९ प्रतिशतमा कायम छ । बैंकहरुले ९० प्रतिशतसम्म यस्तो अनुपात कायम गरी कर्जा दिन सक्ने प्रावधान अनुसार ६ खर्ब रुपैयाँ बढी थप कर्जा विस्तारको क्षमता रहेको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images