काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जलविद्युत कम्पनीको प्राथमिक शेयर निष्काशनमा रोक नलगाइएको स्पष्ट पारेको छ । सार्वजनिक लेखा समितिको निर्देशन अनुसार नेटवर्थ नपुगेको कम्पनी बाहेक कुनै पनि कम्पनीको प्रक्रिया नरोकिएको बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बताए ।
बोर्डमा अहिले ४२ जलविद्युत कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि आवेदन दिएका छन् । १० वटा कम्पनीले हकप्रद शेयरको अनुमति माग्दै निवेदन दिएका छन् । आवेदन दिएका कम्पनीको कागजपत्र नपुगेको कारणले रोकिएको हुन सक्ने उनले बताए । ‘लेखा समितिको निर्देशन अनुुसार नेटवर्थ नपुगेका वा अन्य कागजपत्र पेश नगरेको भएकाले मात्रै रोकिएको होला । अन्यथा जलविद्युत कम्पनीकै मात्रै रोक्नुपर्ने कुनै कारण छैन,’ उनले भने ।
तर, इप्पानले भने विगत दुई वर्ष देखि आवेदन दिएका कम्पनीलाई समेत बोर्ड आईपिओको अनुमति नदिएको गुनासो गरेको छ ।
सार्वजनिक लेखा समितिले २०८० पुस १२ गते प्रतिशेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपिओ जारी गर्ने अनुमति नदिन निर्देशन दिएको थियो । सो निर्देशन पछि पनि बोर्डले कुनै पनि हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छैन । इप्पानका अनुसार आईपिओका लागि आवेदन दिएका कम्पनीमध्ये चारवटाको मात्रै ९० रुपैयाँभन्दा कम छ । तर, पनि बोर्डले निष्काशनको अनुमति नदिएको इप्पानले गुनासो गरेको छ । समितिले तोकिए भन्दा माथि नेटवर्थ भएका कम्पनीहरूको पनि आईपीओ रोकिनु अन्यायपूर्ण भएको इप्पानले जनाएको छ ।
सेबोनका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ नियुक्त भएदेखि चार कम्पनीलाई आईपीओ अनुमति दिइएको छ । तर तिनमा कुनै पनि हाइड्रोपावर कम्पनी समावेश छैनन । हालसम्म ३० देखि ३५ हाइड्रोपावर कम्पनीहरूले आफ्नो वित्तीय विवरण अपडेट गरी सेबोनमा पेश गरेको इप्पानले दाबी गरेको छ । यसका बावजुद पनि आईपीओ अनुमति नपाउँदा हाइड्रो लगानीकर्ता विस्थापित हुने त्रास पैदा भएको इप्पानका पदाधिकारी बताउँछन् ।
आईपीओ अनुमति रोकिएपछि इप्पानले यस विषयलाई लिएर विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाट र दौडधुप तीव्र पारेको छ । इप्पानका अनुसार धर्मखोला हाइड्रो इनर्जी लिमिटेड, रिचेत जलविद्युत कम्पनी लिमिटेड, बेनी हाइड्रोपावर प्रोजेक्ट, र याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको मात्रै नेटवर्थ पुगेको छैन ।
९ वटा हाइड्रोपावर कम्पनीहरूको नेटवर्थ खुल्न बाँकी छ । लाफिङ बुद्ध पावर नेपाल, हिम रिभर पावर, लोअर इर्खुवा हाइड्रोपावर कम्पनी, एपेक्स मकालु हाइड्रोपावर, गौरीशंकर पावर डेभलपमेन्ट, युनिक हाइडेल कम्पनी, आशुतोष इनर्जी, पुवा खोला–वान हाइड्रोपावर र हिम पर्वत हाइड्रोपावर लिमिटेडको नेटवर्थ खुलेको छैन ।



विश्व खबर 



















