images
images
  • ट्रम्पले जेलेन्स्कीलाई ‘तानाशाह’ भनेपछि…

    काठमाडौं । युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच शान्ति वार्ता भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीचको विवाद बढ्दै गएको छ ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा जेलेन्स्कीलाई चुनाव बिनाको तानाशाह भनेपछि विवाद झन् बढ्ने सङ्केत देखिएको छ ।

    जेलेन्स्कीले यसअघि रुसले युक्रेनको बारेमा धेरै गलत सूचना फैलाएको आरोप लगाएका थिए । उनले भनेका थिए, ‘मलाई राष्ट्रपति ट्रम्पप्रति धेरै सम्मान छ, तर म भन्छु कि उनी गलत सूचनाको दुनियाँमा छन् ।’

    राष्ट्रपतिको रुपमा जेलेन्स्कीको कार्यकाल मे २०२४ मा समाप्त हुने थियो, तर फेब्रुअरी २०२२ मा रसको आक्रमणदेखि युक्रेनमा मार्शल ल लागू छ र यसका कारण चुनाव हुन सकेको छैन ।

    ट्रम्पले जेलेन्स्कीको अनुमोदन मूल्याङ्कनसमेत गरेका छन् । ‘सरल शब्दमा भन्नुपर्दा उनको लोकप्रियता केवल चार प्रतिशतमा झरेको छ,’ उनले भनेका छन् ।

    यद्यपि, बीबीसी भेरिफाईको रिपोर्टले ५७ प्रतिशत युक्रेनीहरूले अझै पनि राष्ट्रपति जेलेन्स्कीलाई विश्वास गर्ने खुलासा गरेको पाइएको छ ।

    युक्रेनमा जारी युद्ध अन्त्य गर्ने विषयमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभबीच साउदी अरेबियामा शान्ति वार्ता भएको छ ।

    यसबारे युक्रेनी राष्ट्रपति जेलेन्स्कीले असहमति जनाएका छन् । आफूलाई रुसी–अमेरिकी वार्तामा आमन्त्रित नगरिएको भन्दै आपत्ति जनाएका हुन् ।

    उनले भनेका छन्, ‘हामीलाई रुसी–अमेरिकी वार्तामा आमन्त्रित गरिएको थिएन । हामी सबै पारदर्शिता चाहन्छौं, ताकि कसैले पनि हाम्रो पछाडि केही निर्णय नगरोस् ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images