images
images
  • सूर्यकुमारीको बारीमा फल्यो १६ किलोको लौका

    सुदूरपश्चिम : कैलालीको गौरीगङ्गा नगरपालिका–११ पिरेनी गाउँकी सूर्यकुमारी चौधरीको बारीमा १६ किलोग्रामको एउटै लौका फलेको छ।

    गत जेठमा रोपिएको स्थानीय जातको लौकाको लहरामा कुनै रासायनिक मल र विषादी प्रयोग नगरेरै सो लौका फलाएको उनले बताइन्। “रासायनिक मल र अन्य विषादी केही प्रयोग गरिएन, केवल गोबर मल प्रयोग गरेर लौका फलाइएको हो”, चौधरीले भनिन्।

    गौरीगङ्गा नगरपालिका–९ मा सञ्चालित एकता जैविक संरक्षण कृषि सहकारी (बीउ बैंक)की सदस्यसमेत रहेकी चौधरीले आफ्नै संस्थाबाट लिएको रैथाने जातको लौकाको बीउ रोपेकी थिइन्।

    संस्थाका अध्यक्ष भक्तिराम सापकोटाले संस्थाले रैथाने जातको धान, गहुँ, सिमी, तरकारीलगायत बालीको बीउ संरक्षण गरी किसानलाई बिक्री वितरण गर्दै आएको बताए।

    “हाइब्रिड जातको बीउको तुलनामा रैथाने जातको बीउबाट उत्पादकत्व केही कम हुने गरेको छ तर रैथाने जातको बीउबाट खेती गर्दा लागत खर्च कम र  रोककिराको समस्या पनि कम हुन्छ। कुनै विषादी वा रासायनिक मल प्रयोगबिना उत्पादित कृषिउपज मानव स्वास्थ्यका लागिसमेत हानिकारक हुँदैन। त्यही भएर हामीले यस्तो कार्यलाई प्रोत्साहन गरिरहेका छौँ”, उनले भने।

    प्रतिक्रिया दिनुहोस्
    images
    images