images
images
  • वीरगञ्ज नाकाबाट भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो

    वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भटमास र सूर्यमुखीको प्रशोधित तेल विदेशी मुलुकमा निर्यात बढेको छ ।

    वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ११ अर्ब ९९ करोड १८ लाखको पाँच करोड ६० लाख ६६ हजार लिटर भटमासको तेल निर्यात भएको छ ।

    गत आवको ६ महिनाको अवधिमा भने तीन करोड ११ लाखको एक लाख एक हजार तीन सय एक लिटर भटमासको प्रशोधित तेल निर्यात भएको थियो । छिमेकी मुलुक भारतमा भटमास र सूर्यमुखीको प्रशोधित तेलको निर्यात सहज भएकाले निर्यात उत्साहजनक ढङ्गले बढेको उनले जानकारी दिए ।

    ‘अहिले भारततर्फ प्रशोधित तेलको निर्यातमा क्रमशः सुधार देखिएको छ’, तिवारीले भने । चालु आवको ६ महिनाको अवधिमा भटमासको तेल प्रशोधित मात्रै नभएर सूर्यमुखीको प्रशोधित तेलको निर्यात पनि बढेको छ ।

    चालु आवको ६ महिनाको अवधिमा तीन अर्ब २१ करोड ९१ लाखको दुई करोड २८ लाख ४५ हजार लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । गत आवको सोही अवधिमा भने नौ करोड ९४ लाख १० हजार मूल्य बराबरको सूर्यमुखीको तेल निर्यात भएको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images