काठमाडौँ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीलाई सरकारले अघिल्लो वर्षको भुक्तानी दिन बाँकी नरहेको ठोकुवा गरेका छन्।
महिला आर्थिक पत्रकार संघ फेजाले अर्थतन्त्रको बारेमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले अघिल्लो सरकारले भुक्तानी दायित्व बोकाएको दायित्व सबै वर्तमान सरकारले पूरा गरेको बताएका हुन्। उनले अघिल्लो वर्षको दायित्व चालू आर्थिक वर्षको बजेटमार्फत भुक्तानी गर्नुपर्दा केही समय अप्ठेरो परे पनि अहिले अर्थ मन्त्रालयले त्यो दायित्व व्यहोरेर अघि बढेको बताए।
उनले अब निर्माण व्यवसायीको कानूनबमोजिमको बिल भुक्तानी सहज रूपमा दिनसक्ने अवस्थामा सरकार पुगेको बताए। उनले सरकारले निर्माण व्यवसायीहरूले कानूनसम्मत रूपमा दाबी गरेको भुक्तानी नरोकेको उल्लेख गरे। उनले भुक्तानी दायित्वबाट सरकार बाहिर निस्किएको भन्दै अब निर्माण व्यवसायीहरूले भुक्तानी नपाएको गुनासो गर्नु असान्दर्भिक भएको बताए।
उनले सरकारले निर्माण व्यवसायीहरूले विधिपूर्वक गरेको दाबी भुक्तानी बाँकी नभएको र दाबी भए बाँकी नराख्ने प्रतिबद्धता जनाए। उनले बैंकहरूको महत्त्वपूर्ण हिस्सा घरजग्गा व्यवसायमा लगानी भएको बताए।
मन्त्री पौडेलले भने, ‘निर्माण व्यवसायीहरूको गत वर्षको सिर्जित भुक्तानी बाँकी थियो। भुक्तानी दायित्व व्यवस्थापन गर्ने क्रममा सरकारले विभिन्न मन्त्रालयहरूले प्राथमिकताका साथ गृहकार्य गरेको थियो। कानूनसम्मत रूपमा दाबी गरेको भुक्तानी हुँदै आएको हो। अघिल्लो वर्षको भुक्तानी सकेर कसैले विधिपूर्वक भुक्तानी माग्दा सहजै पाउने अवस्थामा आएका छौँ। निर्माण व्यवसायीहरूले भुक्तानी नपाएको भन्नु सान्दर्भिक देखिँदैन। सरकारले गत वर्षको समेत दायित्व पूरा गरेर निर्माण व्यवसायीहरूले दाबी गरेको भुक्तानी पाउनुहुन्छ। बिल समिट गर्नेबित्तिकै भ्याट बुझाउनुपर्छ। त्यसपछि कहिले पाउने वा नपाउने विषयको चिन्ता गर्नु सान्दर्भिक हुँदैन। विधिपूर्वक दाबी भुक्तानी बाँकी छैनन र बाँकी रहँदैनन्। बैंकहरूको महत्त्वपूर्ण हिस्सा घरजग्गा व्यवसायमा लगानी भएको छ। घरजग्गा कारोबार चलायमान हुनसक्दा समग्र अर्थतन्त्रमा परेको कुरा सत्य हो।’
उनले सरकारले अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्याएको जिकिर गरेयो। उनले अध्यादेशमार्फत लगानीको वातावरण सहजीकरण गरेको उल्लेख गरे। उनले सरकारले अध्यादेशमार्फत गरेको नीति परिमार्जनले निजी क्षेत्रको आत्मबल बढेको दाबी गरे।


विश्व खबर 



















