काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले चुनाव नजिकिएकाले महाधिवेशनको तयारीमा जुट्न आह्वान गरेका छन् ।
सोमबार फेसबुकमार्फत उनले राप्रपामा कायम गतिहिनता कै अवस्थामा चुनावमा जाँदा परिणाम निराशाजनक हुने बताउँदै स्वास्थ मापदण्डको पालना गर्दै महाधिवेशनको तयारीमा जुट्नुपर्ने बताएका हुन्। उनले संसदको चुनाव अदालतको फैसलामा भर भएपनि आगामी फागुन/चैतमा स्थानीय चुनाव हुने निश्चित भएको बताए।
‘संसदको चुनाव कहिले हुन्छ, अदालतको फैसलामा भरपर्छ। तर, आगामी फागुन/चैतमा स्थानीय चुनाव हुने निश्चित छ।’उनले लेखेका छन्,‘राप्रपामा हाल कायम गतिहिनता कै अवस्थामा चुनावमा जाँदा परिणाम निराशाजनक हुनसक्छ। त्यसले पार्टीको भविष्यलाई प्रभावित गर्छ । त्यसैले स्वास्थ मापदण्डको पालना गर्दै महाधिवेशनको तयारीमा जुटौं।’
थापाले पार्टीमा गतिहिनता अन्त्य गर्न महाधिवेशन अनिवार्य भएको दाबी गरेका छन्। महाधिवेशनले नयाँ नेतृत्व र कार्यदिशा तयार गर्ने भएकाले आफूनै नेतृत्वमा आउनुपर्छ भन्ने जरूरी नभएको तर्क गरेका छन्। ‘महाधिवेशनले नयाँ नेतृत्व छनौट र नयाँ कार्यदिशा तयार गर्छ। म नै नेतृत्वमा आउनुपर्छ भन्ने जरूरी छैन। पार्टी कार्यकर्ताहरूको विश्वास जितेर नयॅा/पुराना/युवा जो आएपनि त्यसले पार्टीलाई गतिशील/बलियो बनाउँछ। जनता राप्रपा खोजिरहेछन्।’


विश्व खबर 


















