images
images
  • ६ महिनामा २६ दिन मात्रै चल्यो हेटौडा सिमेन्ट उद्योग

    काठमाडौं –  हेटौडा सिमेन्ट उद्योग ६ महिनाको अवधिमा २६ दिन मात्रै सञ्चालनमा आएर अहिले पूर्णरुपमा बन्द भएको छ ।

    बिग्रिएका पुराना मेसिन मर्मत गरेर सञ्चालन गर्नुको सट्टा सामान्य विद्युत् कटौतीलाई बहाना देखाएर उद्योग बन्द गरिएको छ ।

    सञ्चालन खर्च धान्न नसकिरहेका बेला पुराना उपकरण बारम्बार बिग्रिएपछि चालू आर्थिक वर्षमा जम्मा २६ दिन मात्रै उद्योग चलेको छ । चालू आर्थिक वर्षको ६ महिनामा साउनमा १ दिन, भदौमा १८ दिन र असोजमा सात दिन गरी जम्मा २६ दिन मात्रै उद्योग चलेको कम्पनीले जनाएको छ ।

    चालू आर्थिक वर्षमा साउनमा एक दिन चलेर बन्द भएको उद्योग १४ भदौबाट सञ्चालनमा आएको थियो । तर, ७ असोजमा किलमा समस्या आएपछि बन्द भएको उद्योग अहिलेसम्म चल्न सकेको छैन ।

    सरकारले हालै निजीकरणका लागि सिफारिस गरेका नौवटा सरकारी उद्योगमा हेटौँडा उद्योगलाई समेत समेटेको थियो । पटक–पटक बन्द हुँदै आएको हेटौँडा सिमेन्टले उद्योग सञ्चालनका लागि ठुलो रकम निकासा मागेपछि सरकारले निजीकरण गर्ने निर्णय गरेको थियो । तर, अहिलेसम्म पनि हेटौँडा सिमेन्ट उद्योगको बारेमा कुनै निर्णय भने हुन सकेको छैन ।

    उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले उद्योग मंसिरदेखि विद्युत् प्राधिकरणको अघोषित लोडसेडिङका कारण सञ्चालनमा आउन नसकेको बताए ।

    उनका अनुसार उद्योगलाई उपलब्ध गराइएको ग्रिडमा गत मंसिरदेखि बिहान र बेलुका गरी ६ घण्टा लोडसेडिङ हुँदै आएको छ । विद्युत् प्राधिकरणले घोषित रूपमा लोडसेडिङ नगरे पनि बिहान र बेलुका तीनतीन घण्टा विद्युत् अवरुद्ध हुँदै आएको प्रबन्ध निर्देशक पाण्डेको भनाइ छ ।

    प्रबन्ध निर्देशक पाण्डेले उद्योग सञ्चालन गर्न सके करिब एक लाख बोरा सिमेन्ट उत्पादन गर्न सकिने कच्चा पदार्थ मौज्दात रहेको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images