images
images
  • व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी

    इनरुवा – सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरे ।

    जग्गा भाडामा लिएर उनले आफू सहित दुईजनाको साझेदारीमा रु ३१ लाख लगानी छ बिघा क्षेत्रफलमा पोखरी बनाएका हुन् ।

    पोखरीमा बिगेट, रेहु, नैनी, कोमन , पंगास(बैखी) जातको माछा पालिएका छन् । उनले भने,“ वार्षिकरुपमा रु ११ लाखसम्म आम्दानी भएको छ ।”

    पोखरीबाट वार्षिकरुपमा बिगेट, रेहु, नैनी, कोमन प्रजातिको ५० क्विन्टल माछा उत्पादन भएको छ भने पंगास(बैखी) जातको एक सय क्विन्टल उत्पादन भएको उनले बताए ।

    पछिल्लो समय व्यवसायी कटुवालले परम्परागतसँगै नयाँ प्रजातिका माछा उत्पादन गर्दै आएका छन् ।

    जिल्लाका विभिन्न स्थानमा पंगासअर्थात् बैखी माछापालनमा आकर्षण देखिएको छ। किसानले यसको व्यावसायिक उत्पादन सुरु गरेको उनको भनाइ छ ।

    कम क्षेत्रफलमा थोरै लगानीले यो जातको माछा बढी उत्पादन हुने भएकाले यो माछापालनतर्फ स्थानीय किसानको आकर्षण बढी रहेको उनको भनाइ छ ।

    सबै उमेर समूहका मानिसले यसको स्वाद मन पराउन थालेपछि पंगास माछापालनलाई व्यावसायिक रूपमा गर्दै आएको उनले जानकारी दिए ।

    परम्परागत माछाभन्दा पंगासको उत्पादन र उत्पादकत्व क्षमता बढी रहेको उनले जानकारी दिए । पंगास माछापालनको क्षेत्रफल वार्षिकरुपमा बढ्दै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र इनरुवाले जनाएको छ ।

    सुनसरीमा पाँच सय ८२ हेक्टर क्षेत्रफलमा व्यावसायिक माछापालन हुँदै आएको केन्द्रका निमित्त कार्यालय प्रमुख डा. मनोजकुमार महतोले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images