काठमाडाैं-देश नै छाडेर फरार रहेका सहकारी ठगीका मुख्य योजनाकार गीतेन्द्रबाबु (जिबी) राईविरुद्ध फेरि पूरक मुद्दा दायर भएको छ।
पोखराको सूर्यदर्शन सहकारी ठगीमा अदालतमा मुद्दा चलिरहेकै बेला सरकारी वकिलको कार्यालय कास्कीले उनीविरुद्ध फेरि संगठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐनविरुद्धको कसुरमा १५ वर्षसम्म कैद र साढे २ अर्ब बिगो दाबी कायम गरेर मुद्दा चलाएको हो।
सरकारी वकिलको कार्यालयले राईविरुद्ध तीन कसुरमा पुरक मुद्दा चलाए पनि यसअघि मुद्दा दायर भएका बाँकी १८ जनाविरुद्ध भने संगठीत अपराधमा मुद्दा चलाएको हो। अपचलनकर्ताबाट मात्रै १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ बिगो मागदाबी गरिएको छ।
सहकारीपीडितले २०८० मा सूर्यदर्शन सहकारीका संरक्षक एवं पूर्वअध्यक्ष जीबी, वर्तमान अध्यक्ष थानबहादुर बुढा, उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्य हेमन्त अधिकारी र प्रमोद भट्टराईविरुद्ध जाहेरी दिएका थिए ।
सहकारीको पूर्वसञ्चालक समितिमा रहेका भूपेन्द्र राई, अनुज नकर्मी, शिवबहादुर गुरुङ, भवीश्वर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोक्का, सृष्टि मानन्धर, बुद्धि गुरुङ र सुरज श्रेष्ठसमेत गरी १९ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालयले २०८० असोज १८ मा सहकारी ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो । त्यतिबेला १ अर्ब ११ करोड १९ लाख ४३ हजार बिगो मागदाबी गरिएको थियो ।























