काठमाडौँ – नेपाल नर्सिङ सङ्घको २०औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि तीन समूहले उम्मेदवारी घोषणा गरेका छन् ।
संयुक्त प्रगतिशील समूह, संयुक्त पेसागत समूह र स्वतन्त्र समूहले आ–आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
प्रगतिशील समूहबाट चन्द्रकला शर्मा, पेसागतबाट गङ्गाकुमारी थापा र स्वतन्त्रबाट वसन्ती थापाले उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा रहेका छन् ।
सङ्घको आगामी मङ्सिर २८ गते १४ सदस्यीय कार्यसमिति र तीन सदस्यीय नर्सिङ परिषद्को निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा देशभरिका २० स्थानमा १५ हजार पाँच सय ४९ जना मतदाताले सहभागिता जनाउने नर्सिङ सङ्घले जनाएको छ ।
प्रगतिशील समूहकी अध्यक्ष पदका उम्मेदवार शर्माले आफ्नो समूहसँग सङ्घलाई व्यवस्थित र पारदर्शी रूपमा सञ्चालन गर्ने योजनासहितको लक्ष्य रहेको बताए ।
उनले नर्सिङ पेसामा रहेका समस्या समाधान गरी श्रमको उच्च सम्मान गर्ने, कामअनुसारको पारिश्रमिक उपलब्ध गराउनेमा प्रगतिशील समूह प्रतिबद्ध रहेको उल्लेख गरिन् ।
शर्माले सुत्केरी भएको दुई वर्षसम्म र ५० वर्ष नाघेका नर्सलाई रात्रिकालीन ‘ड्युटी’ गर्न नलगाउने नीतिगत व्यवस्थाका लागि पहल गर्ने, नर्स तथा महिला कार्यरत रहेका सबै संस्थामा स्तनपान कक्ष र शिशु स्याहार केन्द्र बनाउनेलगायत २८ बुँदे प्रतिबद्धता घोषणा गरिन् ।
प्रगतिशील समूहबाट वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा, उपाध्यक्षमा बबिता घिमिरे, महासचिवमा देवकाकुमारी आचार्य, सचिवमा बेली पौडेल, कोषाध्यक्षमा तुलसादेवी अधिकारी रहेका छन् ।
सदस्यमा मेनका पोखरेल, हरिप्रसाद कोजु, कला बस्याल गुरुङ, कोपिला विश्वकर्मा, पासपति अग्रवाल, सवेनाज वेगम, जानुका मोक्तान, शान्तिकुमारी विश्वकर्मा रहनुभएको छ । नर्सिङ परिषद् सदस्यमा राधादेवी आचार्य, सुमिता पाठक र राजदेवी अधिकारी रहनु भएकी छन् ।
पेसागत समूहकी अध्यक्ष पदकी उम्मेदवार थापाले विदेश पलायनको अवस्थालाई रोक्ने तथा स्वास्थ्य ऐनमा भएका विभेद्कारी व्यवस्थालाई सुधार्ने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले निजी क्षेत्रमा दक्ष जनशक्तिलाई पनि न्यून पारिश्रमिकमा काम लगाइएको पाइएको भन्दै श्रमको सम्मान हुने किसिमले पारिश्रमिक उपलब्ध गराउन आफूले पहल गर्ने बताईन्।
पेसागत समूहबाट वरिष्ठ उपाध्यक्षमा कल्पना श्रेष्ठ जोशी, उपाध्यक्षमा मनिषा कोइराला, महासचिव मीनाकुमारी कार्की, सचिवमा जया मिश्रा, कोषाध्यक्षमा रमादेवी पहाडी रहनु भएकी छन् ।
सदस्यमा सानुकुमारी विष्ट, रुपादेवी थापा, रति पक्वाङ्ग, निशा विक, अञ्जु ठाकुर, जाफ्रे आलम अन्सारी, सफला बुढाथोकी र सीताकुमारी प्याकुरेल र परिषद् सदस्यमा ज्ञानु महर्जन, मित्रा देवकोटा र सरला केसी रहनुभएकी छन् ।
स्वतन्त्र समूहकी अध्यक्ष पदकी उम्मेदवार थापाले पेसागत क्षमता तथा दक्षता बढाउँदै सेवाको गुणस्तर विकासमा आफूले ध्यान दिने प्रतिबद्धता व्यक्त गरिन् । रासस


विश्व खबर 



















