नेपालमा भएका राजनीतिक परिवर्तनहरूमध्ये २०४६ सालमा भएको राजनीतिक परिवर्तनलाई ज्यादै महत्वपूर्ण राजनीतिक परिवर्तनको रूपमा लिने गरिन्छ। यो परिवर्तनले नेपालको राजनीतिक व्यवस्थामा मात्र होइन, आर्थिक अवस्थामा पनि परिवर्तन ल्याउने विश्वास गरिएको थियो। देशको आर्थिक अवस्था र समग्र विकासमा सुधार हुने, रोजगारको क्षेत्र विस्तारित भएर सामान्य जनताको आम्दानीमा ठूलो वृद्धि हुने विश्वास गरिएको थियो। र सोही विश्वासले नेपाली जनतालाई पञ्चायती व्यवस्था विरुद्ध सडकमा आउन, आन्दोलन गर्न प्रेरित गरेको थियो।
२०४६ सालको राजनीतिक परिवर्तन पछि नेपालको आर्थिक स्थितिमा खासै सुधार आएन। नयाँनयाँ उद्योगहरूको स्थापना त भएन नै, भएका उद्योगहरूको पनि संरक्षण हुन सकेन। उद्योग र व्यापारको क्षेत्र अभूतपूर्व किसिमले सङ्कुचत भएर रोजगारको स्तर वृद्धि हुन सकेन। उल्टो देशमा बेरोजगारी बढेर रोजगारका लागि नेपाली युवाहरू संसारका अन्य मुलुक पुग्नुपर्ने बाध्यात्मक स्थिति सृजना भयो। नेपाल आर्थिकरूपमा ज्यादै कमजोर हुन पुग्यो। यस्तो भन्नेहरूको सङ्ख्यामा नेपालमा धेरै छ।
के नेपालमा आर्थिक विकास नभएको नै हो त ? यस प्रश्नको उत्तर दिन सजिलो भने छैन। यो प्रश्न आफैंमा ज्यादै जटिल छ। नेपालमा आर्थिक विकास भएको छैन भनौं भने अहिले नेपालीहरूको पहुँच अन्तर्राष्ट्रिय श्रम बजारसम्म पुगेको छ। अहिले नेपालीहरूको आप्mनो श्रम, ज्ञान र सीप बिक्री गर्न अन्तर्राष्ट्रिय श्रम बजारहरूमा पुग्न सफल भएका छन्। खाडीका अनेक देशमा नेपाली युवाहरूको बाक्लो उपस्थिति त छ नै, अमेरिका, अस्ट्रेलिया, कनाडालगायत युरोपका अनेक देशहरूमा समेत नेपाली युवाहरूको उल्लेखनीय उपस्थिति छ। अन्तर्राष्ट्रिय श्रम बजार नेपालीहरूको लागि अहिले आय आर्जन गर्ने अति लाभदायक स्थल हुन पुगेको छ। अन्तर्राष्ट्रिय श्रम बजारले नेपालीहरूको आर्थिक जीवनमा अति नै सकारात्मक प्रभाव पारेको छ।
नेपाल भित्रै पनि सडकहरूको विस्तार भएको छ। राजमार्गहरूको लम्बाइ वृद्धि भएको छ। नयाँनयाँ सडकहरूको निर्माण भएको छ। जुन स्थानमा पहिले पैदल हिंड्न कठिन थियो, अहिले त्यहाँ सडक पुगेको छ, सवारीका साधनहरू पुगेका छन्। कार पुगेका छन्, बस पुगेका छन्। तराई होस् वा पहाड, त्यस क्षेत्रका अनेक बजारहरू सडकसँग जोडिएका छन्। ग्रामीण बजारहरूमा आर्थिक कारोबार बढेको छ।
गाउँका घरहरू, जसका छाना खर वा ढुङ्गाका थिए अहिले पक्की बनेका छन्। मोटर, मोटरसाइकल आदिको सङ्ख्यामा व्यापक वृद्धि भएको छ। सुन, चाँदीका गहनाहरूको बजारमा ठूलो माग छ। गरगहनाका अनेक पसल खुलेका छन्। विलासी वस्तुहरूको बिक्री पनि ठूलो परिमाणमा भइरहेको छ। भवन निर्माणमा र खासगरी काठमाडौंमा भवन निर्माणमा तीव्रता आएको छ। काठमाडौंमा ठूला–ठूला घर बनेका छन्। मलहरूको सङ्ख्यामा वृद्धि भएको छ। आर्थिक विकासका यी सूचाकाङ्कहरू हेर्दा नेपालमा आर्थिक विकास भएको छैन भन्न सकिने स्थिति छैन।
नेपालमा आर्थिक विकास भएको छ भनौ भने देशमा ठूलो बेरोजगारी छ। बेरोजगारीले गर्दा जनतामा ठूलो निराशा छ। निराशा पनि चरम बिन्दुमा पुगेको छ। चरम बिन्दुमा पुगेको निराशाले जनतालाई विदेश लाग्न बाध्य पारिरहेको छ। प्रौढहरू मात्र होइन, १५–१६ वर्षे युवाहरू पनि देश भित्र बस्न इच्छुक छैनन्। स्वदेश त्यागेर कुनै पनि बेला विदेश जान तम्तयार भएर बसेका छन्। चरम बेरोजगारीले दिएको निराशाले गर्दा युवाहरू प्रत्येक दिन ठूलो सङ्ख्यामा स्वदेश त्याग गरिरहेको स्थिति हेर्दा नेपालमा आर्थिक विकास भएको छैन भन्नुपर्ने स्थिति छ।
यथार्थमा भएको के छ? नेपालमा आर्थिक विकास भएको छ कि छैन? नेपालमा आर्थिक विकास भएको त छ, तर जनताको अपेक्षा अनुसार भएको छैन। जनताले सोचे अनुसार भएको छैन।
विकासप्रति जनताको अपेक्षा अहिले चुलिएर गएको छ। अर्कोतिर हाम्रो विकासको गति कछुवा चालको हुन पुगेको छ। नेपालमा आर्थिक विकास भएको त छ तर तीव्र गतिमा भएको छैन। जनताको अपेक्षा भने तीव्र गतिमा आर्थिक विकास होस् भन्ने छ।
हाम्रो आर्थिक विकासको गति मन्द किसिमको छ। कछुवा चालको छ। तर जनताको अपेक्षा भने देशमा आर्थिक विकासको गति खरायो–चालमा होस् भन्ने छ। कछुवा चालको आर्थिक विकासले जनतामा आशा उत्पन्न गराउन सकेको छैन। उल्टो जनता निराश हुन पुगेको छ। जनतमा चरम निराशा उत्पन्न भएको छ।
जनताले नेपालमा किन खरायो चालमा आर्थिक विकास होस् भन्ने अपेक्षा गरिरहेको छ? यो प्रश्न आफैंमा महत्वपूर्ण छ। यस विषयमा पनि चर्चा हुन आवश्यक छ। सूचना प्रविधिमा भएको अभूतपूर्व विकासले समाचार, जानकारीप्रति सामान्य जनताको पहुँच ज्यादै सजिलो पारिदिएको छ। नेपालका सुदूर गाउँहरूमा बस्नेहरूले पनि अमेरिका र युरोपमा भएका विकास सजिलै देख्न सकिरहेका छन्। सुविधायुक्त शहरहरूमा बस्नेहरूले त झनै सजिलै देख्न सकिरहेका छन्। जसरी अमेरिका तथा युरोपमा आर्थिक प्रगति भइरहेको छ, नेपाली जनताले नेपालमा पनि सोही अनुसार आर्थिक प्रगति होस् भन्ने अपेक्षा गरिरहेको छ। र त्यस्तो हुन नसकेर जनतामा निराशा उत्पन्न हुन पुगेको छ। यसरी गरिएको तुलनाले पनि नेपालीहरूमा चरम निराशा जागृत गरेको छ। हाम्रो निराशाको कारण आफ्नै आर्थिक दुर्बलताभन्दा अन्य देशहरूको आर्थिक प्रगतिसङ्ग गरिने तुलना हुन पुगेको छ।
नेपालमा आर्थिक विकासको गति सुस्त हुन पुगेको छ। यो सत्य हो। तर गति अति नै सुस्त भने छैन। निराश भएर आफ्नो देशमा आर्थिक विकास हुँदैन भन्ने सोच जनताले राख्नुपर्ने गतिमा सुस्त छैन। नेपाली युवाहरूले स्वदेशमा आफ्नो भविष्य सुरक्षित नदेखेर लस्कर लागेर विदेश जानुपर्ने गतिमा सुस्त छैन। नेपाली युवाहरूमा जुन स्तरमा चरम निराशा देखिएको छ त्यो उपयुक्त पनि छैन।
२००७ सालसम्म नेपाल बाहिरी संसारको लागि बन्द थियो। नेपालकै अन्य भागबाट काठमाडौ प्रवेश गर्न तत्कालीन राणा सरकारसँग अनुमति लिनुपथ्र्यो। हामीले यो पनि स्मरणमा राख्न आवश्यक छ। आफ्नो सत्ता समाप्त होला भन्ने भयले राणा सरकारले नेपाललाई बाहिरी संसारसँग अलग राखेकोले नेपाल आर्थिक विकासको पथमा ज्यादै पछाडि हुन पुग्यो।
२०४६ सालको राजनीतिक परिवर्तनले बल्ल नेपाललाई संसारसँगराम्ररी परिचित गरायो। नियन्त्रित अर्थतन्त्रबाट देशलाई बजार अर्थतन्त्रको दिशातर्फ उन्मुख गरायो। देशलाई उदार अर्थतन्त्रको बाटोतिर डोर्यायो। आर्थिक विकासमा निजी क्षेत्रलाई पनि सहभागी गरायो। नेपालमा आर्थिक विकासको बाटो यथार्थमा २०४६ सालको राजनीतिक परिवर्तनपछि मात्र खुलेको हो। फराकिलो भएको हो।
नेपालको आर्थिक विकासको इतिहास त्यति पुरानो छैन, जति अमेरिका र युरोपका देशहरूको छ। तर हामी अमेरिका र युरोपमा जुन गतिमा विकास भयो वा जुन गतिमा भइरहेको छ, नेपालमा पनि सोही गतिमा विकास होस् भन्ने इच्छा गरिरहेका छौं र त्यस्तो हुन नसक्दा दुःखी हुन पुगेका छौं। चरम निराश हुन पुगेका छौं। आफ्नो देशमा आफ्नो भविष्य सुरक्षित नदेखेर अन्य मुलुकतर्फ लागिरहेका छौं। आफ्नो देशको आर्थिक विकास गर्नेतर्फ लागिरहेका छैनौं।
हाम्रो भूगोल, सामाजिक संस्कृति, परम्परा आदिले पनि हामीलाई तीव्र गतिमा विकास गर्न दिइरहेको छैन। देशको राजनीति र नेताहरूको व्यवहार पनि आर्थिक विकासको लागि प्रतिकूल छ। यी यथार्थ कुरा हुन्। तर यी यस्ता कुराहरू हुन् जसलाई सुधार्न सकिन्छ। त्यस कारण अहिले हामीमा जुन चरम निराशा देखिएको छ त्यस्तो देखिनु आवश्यक छैन। स्वदेशमा नै सम्भावनाका ढोकाहरू खुल्न सक्छ भन्ने आशा हामीले राख्न आवश्यक छ।
विदेश लाग्नु र आफ्नो भविष्य सुरक्षित बनाउनु मात्र वर्तमान समस्याको समाधान होइन। हामीले आफ्नो देशको आर्थिक विकास आफैंले गर्ने हो। जसले जुन स्तरमा सक्छ त्यही स्तरमा गर्ने हो।
नेपालमा आर्थिक विकास पटक्कै भएको छैन भन्ने भनाइ सत्य भने होइन। हाम्रो चुलिएको अपेक्षा अनुरूप आर्थिक विकास भएको छैन। सत्य यति मात्र हो।


विश्वराज अधिकारी 




















