काठमाडौँ – देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा दुई अर्ब ७० करोड ४० लाख रुपैयाँ राजस्व सङ्कलन गरेका छन् ।
घरजग्गा कारोबार पीकमा भएका बेला महिनामै १० अर्ब रुपैयाँसम्म राजस्व संकलन गर्ने मालपोत कार्यालयहरु पछिल्लो लामो समयदेखि २/४ अर्ब राजस्वमा सीमित भएका छन् । घरजग्गा कारोबारको इतिहास हेर्नेहो भने कात्तिक, मंसिर र पुस महिना घरजग्गा कारोबारका लागि सिजनेबल महिना हुन् । तर यो वर्ष कात्तिकमा असोजको तुलनामा पनि कम राजस्व संकलन भएको छ ।
असोजमा तीन अर्ब आठ करोड राजस्व सङ्कलन भएकोमा कात्तिकमा यो २ अर्ब ७० करोड रुपैयाँमा सीमित भएको छ । जुन असोजको तुलनामा ३८ करोड रुपैयाँ कम हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चाड पर्वलगायतका कारणले गत असोजको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा कमी आएको हो । तर, कात्तिकमा भन्दा दसैंका कारण लामो विदा असोजमा नै परेका थिए । त्यसकारण कात्तिकको राजस्वमा गिरावट आउनु घरजग्गा कारोबार थप सुस्ताउने संकेत भएको एक घरजग्गा व्यवसायीले बताए ।
कुन क्षेत्रमा कस्तो छ घरजग्गा कारोबार ?
विभागका अनुसार, काठमाडौँ उपत्यकाभित्रका नौ वटा मालपोत कार्यालयहरुमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले रु २४ करोड ५७ लाख ५४ हजार आठ सय ५८ बराबर राजस्व सङ्कलन गरेको छ ।
मालपोत कार्यालय गोटीखेल ललितपुरले रु चार लाख ६७ हजार सात सय २०, भक्तपुरले रु १७ करोड ६९ लाख २३ हजार छ सय ४५, डिल्लीबजारले रु १५ करोड ७७ लाख २० हजार पाँच सय ४५ बराबरको राजस्व सङ्कलन गरेको छ ।
विभागका अनुसार मालपोत कार्यालय चाबहिलले रु २१ करोड ४२ लाख ४६ हजार नौ सय ९२, कलङ्की मालपोत कार्यालयले रु १७ करोड आठ लाख ४४ हजार सात सय ५१, साँखु कार्यालयले रु चार करोड ७९ लाख ५४ हजार नौ सय ४२, मनमैजु कार्यालयले रु पाँच करोड ५० लाख ९३ हजार छ सय ३२, टोखा कार्यालयले रु तीन करोड ५७ लाख २७ हजार छ सय ६५ बराबरको राजस्व सङ्कलन गरेको छ ।
मुलुकभर एक सय ३३ मालपोत कार्यालय छन् । ती कार्यालयले रु १७ करोड ७८ लाख ३८ हजार चार सय ६६ बराबरको सेवा कर उठाएको छ । यस्तै, रजिष्ट्रेशन शुल्क रु एक अर्ब ८२ करोड ९५ लाख ३० हजार एक सय ३१, पूँजीगत लाभकर रु ९३ करोड ७७ लाख ९१ हजार आठ सय २० सङ्कलन गरेको छ ।
विभागका अनुसार गत साउनमा रु तीन अर्ब ८३ करोड ५० लाख ८२ हजार आठ सय ८५, भदौमा रु तीन अर्ब नौ करोड दुई लाख ५९ हजार एक सय ५२ बराबरको राजस्व सङ्कलन भएको थियो ।
कहिलेबाट आउँछ कारोबारमा सुधार ?
घरजग्गा व्यवसायीका अनुसार मंसिरको महिना अलिकति कारोबार बढ्ने अनुमान गरिएको छ । मंसिर महिनामा कुनै पनि वर्ष कारोबार रकम र संख्या दुबै बढेको पाइन्छ । तर, उक्त कारोबारले विगतका वर्षमा मंसिर महिनामा भएको कारोबारलाई उछिन्छकी उछिन्दैन भन्ने कुरा मुख्य सवाल हो । यदि गत वर्षको मंसिरको भन्दा यो मंसिरमा कारोबार बढ्यो भने अबको २ वर्षभित्र कारोबारमा फेरि उछाल आउन सक्छ । तर कात्तिकको तुलनामा मात्रै कारोबार बढ्यो र विगतको मंसिरमा भए बराबरको कारोबार भएन भने घरजग्गा क्षेत्र आगामी ३ वर्षसम्मै मन्दिमा रहने ती व्यवसायीको अनुमान छ ।
गत वर्ष मंसिरमा देशभर २ अर्ब ८६ करोड रुपैयाँ, २०७९ मंसिरमा २ अर्ब ६४ करोड रुपैयाँ, २०७८ मंसिरमा ७ अर्ब ६ करोड रुपैयाँ र २०७७ मंसिरमा ५ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
घरजग्गा कारोबार लयमा फर्किन यो वर्ष मंसिरमा कम्तिमा ४ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन हुनुपर्ने ती व्यवसायीको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्