काठमाडौं । सरकारले तारे होटलमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थ बिक्रीमा रोक लगाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले सबै तारे होटल र रिसोर्टमा प्लास्टिकजन्य बोटलमा रोक लगाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
विभागबाट तारे स्तरमा स्तरवर्गीकरण भई इजाजत प्राप्त गरी सञ्चालनमा रहेका होटल तथा रिसोर्टहरूमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थहरू प्रयोगमा आइरहेका भनी जानकारी प्राप्त हुन आएकाले तत्काललाई कम्तीमा चार तारे वा सोभन्दा माथिल्लो स्तरका होटल तथा रिसोर्टहरूमा पिउने पानीका लागि प्रयोगमा आउने प्लास्टिकजन्य बोतलमा रोक लगाएको पर्यटन विभागका महानिर्देशक सहसचिव डा नारायण रेग्मीले जानकारी दिए ।
प्लास्टिकजन्य बोटलको प्रयोगबाट मानव स्वास्थ्य तथा वातावरणमा समेत नकारात्मक प्रभाव पर्ने हुदाँ प्लास्टिकजन्य बोटलको प्रयोगमा निषेध गरी काँचका बोटल तथा अन्य धातुको भाँडा प्रयोग गरी होटलका कोठा तथा रेस्टुरेन्टहरूमा पिउने पानीको व्यवस्था मिलाउन निर्देशन दिइएको महानिर्देशक रेग्मीले बताए ।
कतिपय तारे होटलमा अहिले प्लास्टिकका बोटलभन्दा काँचका भाडामै पानी दिन सुरु गरिएको भएपनि रिसोर्टहरुमा भने पानीका बोटलहरु नै प्रयोगमा रहेका छन् । अर्कोतर्फ यस्ता होटल तथा रिसोर्टले पानीको बोटलको खुद्रा मूल्यभन्दा अधिक मूल्य लिएको उजुरी पछि जरिवाना समेत तिर्दै आएका छन् ।


विश्व खबर 




















