
एजेन्सी । उत्तरी इजरायलमा गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक्षा बल (आईडीएफ) ले जनाएको छ ।
हाइफाको दक्षिणमा २० माइल (३३ किलोमिटर) टाढा रहेको सहर बिन्यामिनाको छेउमा रहेको सेनाको बेसलाई लक्षित गरी भएको आक्रमणमा सात सैनिकहरू गम्भीर घाइते भएको आईडीएफले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।
तेल अभिभ र हाइफाको बिचमा रहेको क्षेत्रमा इजरायली रक्षा बल (आईडीएफ) गोलानी ब्रिगेडको प्रशिक्षण शिविरलाई लक्षित गरी भएको उक्त आक्रमणको हिजबुल्लाहले जिम्मेवारी लिएको छ ।
सशस्त्र समूहको मिडिया कार्यालयले बिहीबार दक्षिणी लेबनान र बेरुतमा इजरायली आक्रमणको जवाफमा आक्रमण गरिएको बताएको छ । समूहले उत्तरी इजरायलमा रहेको शिविरलाई ‘ड्रोनको झुन्ड’ प्रयोग गरेर निशाना बनाएको बताएको छ ।
इजरायली एम्बुलेन्स सेवा, म्यागेन डेभिड एडोम (एमडीए) ले आक्रमणमा ६१ जना घाइते भएको बताएको छ । जसमा तीन जनाको अवस्था गम्भीर रहेको छ । ती मध्ये ३७ जनालाई एम्बुलेन्स वा हेलिकप्टरबाट उद्धार गरी ठूला क्षेत्रीय अस्पतालमा लगिएको बीबीसीले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्