७ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले साना तथा मझौला उद्योगमा लगानी बढाउँदै क्रियटिभ इकोनोमी विकासमा साझेदारी गर्न एसियाली लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।
थाइल्यान्डको राजधानी बैंककमा आयोजित एसियाली व्यापार प्रवर्द्धन फोरम (एटिपिएफ)को कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालजस्ता विकासोन्मुख मुलुकहरूमा साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेकाले लगानी बढाउन र निर्यात बजारमा थप सहुलियतका लागि आह्वान गरेका हुन् ।
उनले समावेशी समृद्धिका लागि एसियाली व्यापार अर्थतन्त्रमा एसएमईको सशक्तीकरणका मुद्दामा साझा आर्थिक दृष्टिकोणका लागि पनि आग्रह गरेका छन् ।
नेपालमा साना तथा मझौला उद्योगहरूले जिडिपीको लगभग २२ प्रतिशत योगदान गर्ने भएकाले सो क्षेत्रको विकास तथा प्रवर्द्धनमा अन्तरक्षेत्रीय साझेदारीको महत्त्व रहेको अध्यक्ष ढकालको भनाइ थियो ।
साना तथा मझौला उद्योगलाई क्रियटिभ इकोनोमीसँग जोडेर विकास तथा प्रवर्द्धनमा जोड दिन थालिएकाले लगानी तथा बजारका सम्भावनाहरू बढेकोतर्फ पनि ढकालले एसियाली लगानीकर्ताहरूको ध्यानाकर्षण गराएका थिए ।
नेपालको निर्यात व्यापारमा हातले बुनेका गलैँचा, थांका, चित्रकला र परम्परागत संगीतका वाद्ययन्त्रहरूको उल्लेख्य हिस्सा रहेकाले सांस्कृतिक उद्योगहरूमा लगानी गरेर समावेशी समृद्धिमा योगदान गर्न पनि अध्यक्ष ढकालले आग्रह गरेका थिए ।
नेपालमा पर्यटन र ऊर्जामा पनि लगानीको राम्रो अवसर
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ढकालले नेपालमा पर्यटन र ऊर्जा क्षेत्रमा पनि लगानीकाे उपयुक्त अवसर रहेको बताएका थिए ।
उनले नेपालको बढ्दो पर्यटन बजारलाई लक्षित गरी होटेल, थिमपार्क, केबलकारलगायतका पर्यटन पूर्वाधारमा नेपालले लगानी खोजिरहेकाले यी क्षेत्रमा साझेदारीका लागि लगानीकर्ताहरुलाई आग्रह गरेका हुन् । नेपालको पर्यन क्षेत्रमा लगानीका अवसर खोज्नको लागि एकपटक नेपाल भ्रमण गर्न पनि उनले सबैलाई आग्रह गरे ।
त्यस्तै अध्यक्ष ढकालले भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने भएको र बंगलादेशमा पनि थप बजार सुनिश्चित रहेकाले जलविद्युतमा पनि लगानीको उपयुक्त अवसर रहेको धारणा राखेका थिए ।


विश्व खबर 




















