images
images
  • रेमिट्यान्स क्षेत्रको पहिलो मर्जरः आइएमई र जिएमईले आजदेखि थाले एकीकृत कारोबार, अब जनतालाई नै आइएमईको मालिक !

    काठमाडौं–आइएमई लिमिटेड र जिएमईले आजदेखि एकीकृत कारोबार आवबाट सुरु गरेका छन् । नेपालकै पहिलो र नेतृत्वदायी रेमिट्यान्स कम्पनी आइएमईले जिएमईलाई प्राप्ति गरेपश्चात आजबाट एकीकृत कारोबार थालनी गरेका हुन् । यो रेमिट्यान्स क्षेत्रको पहिलो सफल मर्जर हो । आजदेखि औपचारिक रुपमा आइएमई लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ गरेका हुन् ।

    बैकिङ क्षेत्रमा सबैभन्दा धेरै र ठूला मर्ज गराएका व्यवसायी चन्द्र ढकाल रेमिट्यान्स कम्पनी मर्जर तथा प्राप्तिमा पनि पहिलो बनेका छन् । आइएमई लिमिटेडले जीएमई रेमिटलाई प्राप्ति गरेको छ । प्राप्तिपछिको एकीकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले गरे । आइएमईले जीएमई रेमिटलाई प्राप्ति गरेपछि आइएमई लिमिटेडको नामबाट कारोबार भएको हो ।

    कारोबार रकमका आधारमा आईएमई पहिलो र जीएमई तेस्रो ठूला कम्पनी हुन् । मर्जपछि कम्पनीको कारोबार वार्षिक साढे ३ खर्ब रुपैयाँभन्दा बढी हुनेछ । मर्जपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ हुने छ । हाल आईएमईको पुँजी ९० करोड र जीएमईको पुँजी २५ करोड रुपैयाँ छ ।ime remitance

    दुबै कम्पनीको गत जेठमा भएको साधारणसभाले एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धि प्रस्ताव पारित गरेका थिए । आईएमईको अध्यक्ष चन्द्रप्रसाद ढकाल छन् । उनी निजी क्षेत्रको छाता संगठन नेपाल उधोग वाणिज्य महासंघ र ग्लोबल आईएमई बैंकका समेत अध्यक्ष हुन् । आईएमईले प्राथमिक सेयर (आईपीओ) पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

    मर्जपछि कम्पनीले १० प्रतिशत सेयर सार्वसाधारणका लागि निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ । आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटललाई नियुक्त गरिसकेको छ । अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा पनि आवेदन दिइसकेको छ । नेपालको पहिलो रेमिट्यान्स आईएमई सरकारलाई सबैभन्दा बढी कर बुझाउने रेमिट्यान्स कम्पनीको रुपमा स्थापित छ ।

    ‘रेमिट्यान्स सेवालाई थप परिष्कृत र अब जनतालाई नै आइएमईको मालिक बनाउँछौं’
    chandra dhakal 2

    आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले आईएमईले छिट्टै नै आईपीओ जारी गर्ने बताएका छन् । आइएमई र जीएमई रेमिटको मर्जरपछि आजदेखि एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै उनले आइएमईलाई चाँडै नै सर्वसाधारणमा लैजाने बताएका हुन् । ‘हामीले आइएमईलाई चाँडै नै पब्लिकमा लैजाँदैछौं । जनतालाई नै मालिक बनाउने हाम्रो अर्को यो पहल हो’ –उनले भने । रेमिट्यान्स सेवालाई थप परिष्कृत र सहज बनाउन दुईवटा रेमिट कम्पनीहरुबीच मर्जर सम्पन्न गरेर एकीकृत कारोबार शुभारम्भ गरिएको उनको भनाइ छ । आजभन्दा करिब २५ वर्ष अगाडि सन् २००१ मा मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरु भएको आइएमई अर्थात् इन्टरनेशनल मनी एक्सप्रेसको यात्रा सहज नभए पनि सफलताको यो उचाई स्मरणीय भएको उनले बताए ।

    ‘नेपाल सरकारले वैदेशिक रोजगारीका लागि केही देशहरु खुल्ला गरिसकेपछि वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या भर्खरै बढ्न सुरु गरेको थियो । जापान बस्दा हामी आफैँले नेपालमा पैसा पठाउँदा खेपेको सकस, अनौपचारिक र असुरक्षित माध्यमका कारण धेरै नेपालीहरुले आफ्नै कमाइ आफन्तसम्म पु¥याउन झेलिरहेका समस्याहरु देखेका हामीहरुले छिटो, भरपर्दो माध्यम खोजी गर्दै गर्दा आइएमईको जन्म हुन पुगेको हो’ विगतलाई स्मरण गर्दै ढकालले भने । उनी भन्छन्, ‘नेपालको त्यही अगुवाई रेमिटेन्स कम्पनी, आइएमई अहिले नेपाल र नेपाली रहेको विश्वका कुना कुनाका जो कोहीको पहिलो रोजाई बन्न पुगेको छ ।’

    आइएमई भनेको अहिले पैसा पठाउने कामकै पर्याय बनेको र पैसा पठाउने भनेको आइएमइ गर्ने हो भन्ने पर्याय बन्न सफल भएको समेत उनले बताए । आफूहरूले आईएमई सुरू गर्दा रेमिट बारे जानकारी नै नभएको समेत उनले बताए । ‘हामीले आइएमई सुरु गर्दा निजी क्षेत्रबाट रेमिट्यान्स सेवा दिने विषय सहज थिएन। डलर कारोबारको अनुमती सहज थिएन । सानो पुँजी, धेरै किसिमका अवरोध, अनौपचारिक रुपमा रेमिट्यान्सको कारोबारको प्रभाव र अन्य धेरै समस्याबीच हाम्रो व्यवसायले गति लिन सुरु ग¥यो । निस्वार्थ भावनाले गरिएको मिहिनेतले अवश्य पनि सही परिणाम दिने र सफलता मिल्ने कुरा हामीलाई सुरुवातका केही वर्षमै आइएमईले पुष्टि गरि सकेको थियो’ उनले भने ।
    १ करोड चुक्ता पुँजीमा खुलेको आईएमई अहिले १ अर्वको कम्पनी हुँदै पहिलो मर्जर गर्ने कम्पनी बनेको छ । आईएमई खुल्दा २० प्रतिशतमात्र औपचारिक च्यानलबाट रेमिट्यान्स भित्रिने गरेकोमा अहिले ८० प्रतिशत औपचारिक च्यानलबाट रेमिट्यान्स भित्रिन सफल भएको समेत ढकालले बताए ।

    5.2

    जसमध्ये पनि ५० प्रतिशत आईएमई, जीएमई र ग्लोबल आईएमई बैंकबाट रेमिट्यान्स भित्रिन्छ । यस ग्रुपमार्फत सरकार र जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जन बढी क्षेत्रमा लगानी विस्तार गरेको छ । रेमिट्यान्स सेवाबाट व्यवसायिक यात्रा सुरुगरेको आइएमईले अहिले आफ्नो लगानी सेवामुलक, उत्पादनमुलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा विस्तार गरिरहेको छ ।

    व्यवसायलाई सफल बनाउन मुख्य ३ सुत्रले काम गरेको उनले बताए । ‘हामीले व्यवसाय सुरु गर्ने मुख्य ३ वटा सूत्र छन् । पहिलो हो, राज्यको प्राथमिकतामा रहेको व्यवसाय । दोस्रो आम जनतालाई सेवा दिन सकिने र बढीभन्दा बढी जनता लाभान्वित हुन सक्ने व्यवसाय तथा तेस्रो यस्तो व्यवसाय हो जुन आर्थिकरुपले पनि व्यवसाय बन्न सम्भव हुन्छ अर्थात् फिजिबल छ । त्यस्तो व्यवसाय सधैँ सफल हुन्छ भन्ने हाम्रो विश्वास हो जुन आजका दिनसम्म पनि कायम छ भन्ने मलाई लाग्दछ । यही विश्वास र यही सूत्रले आज हामीलाई अहिलेको अवस्थामा पु¥याएको छ भन्ने हामीलाई लाग्दछ’ – उनले भने । आइएमई ग्रुपअन्तर्गत रेमिट, बैंक तथा वित्तीय संस्थाहरु, केवलकार, होटल तथा रिसोर्ट, जलविद्युत, अटोमोबाइल, बीमा, शिक्षा, स्वाथ्य, पर्यटन तथा सूचना प्रविधिका क्षेत्रमा विभिन्न कम्पनीहरु सक्रिय छन् ।

    आइएमई सुरु गर्दा मासिक २ मिलियन डलर भित्र्याउने लक्ष्य राखेको अहिले यो २०० मिलियन डलरभन्दा बढी पुगेको उनले सुनाए । सरकार तथा नेपाल राष्ट्र बैंकले समय समयमा ल्याउने नीति नियमहरुको पूर्ण पालना अगाडि बढेको पनि उनले बताए । उनी थप्छन्, ‘हामी त्यस्तो नीति कार्यान्वयन गर्ने पहिलो संस्था बन्ने गरेका छौँ । राष्ट्र बैंकले बैंकको पुँजी बढाउन मर्जरको नीति ल्याउदा होस् वा बिग मर्जरको नीति ल्याउदा होस् । यी नीतिहरुको कार्यान्वयनमा हामी सदैव पहिलो पंक्तिमै उभिने गरेका छौँ ।’

    रेमिट्यान्स कम्पनीको क्षेत्राधिकारका बारे पनि सोच्नुपर्ने बेला आएको भन्दै उनले नियामक निकैलाई झक्झकाए । ‘रेमिट्यान्सको आकार बढेको छ । डिजिटल प्रविधिको विकाससँगै रेमिट्यान्सलाई डिजिटल माध्यमबाट सिधै वालेटमा वा बैंक खातामा पठाउन सकिने भइसकेको छ । यसमा नेपाल राष्ट्र बैंकलले पनि पक्कै केही गर्नेछ’ उनले भने । आइएमई लिमिटेडको सञ्चालक समितिको जिम्मेवारीबाट विदा लिने पनि जानकारी समेत ढकालले जानकारी गराए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images