काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतको कोलकाता पोर्टको अवलोकन गरेका छन् ।
अवलोकनका क्रममा उनले पोर्टका अध्यक्ष रथेन्द्र रम लगायतका उच्च अधिकारीहरुसँग नेपालको पारवहन व्यापार प्रक्रिया सहजीकरण तथा लागत कम गर्ने विषयमा छलफल गरेका छन्।
अवलोकन भ्रमणका क्रममा मन्त्री भण्डारीले भूपरिवेष्ठित मुलुकले प्राप्त गर्ने व्यापार सौविध्यता, पारवहन व्यापार सवलीकरण, ‘ट्रान्ससिपमेण्ट मोडालिटि’, भण्डारण जाचँपासलगायतका विषयमा जानकारी लिएका छन् ।
नेपालका तर्फबाट पारवहन लागत कम गर्ने विषयमा राखेको मन्त्री भण्डारीले जिज्ञासामा त्यहाँका प्रतिनिधिले चीनबाट हल्दिया र कोलकातामा सिधा कार्गो जहाजको व्यवस्था गरिएकाले सिंगापुरमा गरिने ट्रान्ससिपमेण्ट लागत कम भई सम्पुर्ण लागत नै घट्ने जानकारी दिएका छन् ।
पारवहन लागतको १० प्रतिशत मात्रै पोर्ट लागत भएकाले थप सहुलियत दिन सकिने पोर्टका अधिकारीहरुले बताएको मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले जानकारी दिए । नेपाली महावाणिज्य दूतावास एंव नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको समन्वयमा उक्त छलफल भएको थियो । सो अवसरमा कोलकाता महावाणिज्य दूतावासका पदाधीकारी पनि उपस्थिति थियो ।
मन्त्री भण्डारीले तेस्रो मुलुकसँगको व्यापारमा देखिएका प्रक्रियागत समस्या, आयातकर्ता र निर्यातकर्ताका समस्याका विषयमा जानकारी लिंदै कोलकातास्थित महावाणिज्य दूतावास तथा गोदाम कम्पनी लिमिटेडलाई सहजीकरण गरि परिणाममुखी भएर काम गर्न पनि निर्देशन दिएका छन् ।


विश्व खबर 




















