images
images
  • नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच समझदारी

    काठमाडौं- नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि प्रवर्द्धनका लागि समझदारी गरेका छन्। कृषि प्रवर्द्धन, अनुसन्धान, विकास, पूर्वाधार निर्माण, यान्त्रिकीकरण, तथा साना किसानहरूमा उद्यमशीलता विकासका लागि समझदारी गरिएको बैंकले जनाएको छ।

    नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थितिमा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक भरतराज ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

    बैंकका अनुसार ग्राहकहरूको आवश्यक वित्तीय र गैरवित्तीय सेवाहरूमा पहुँच विस्तार गर्ने मुख्य उद्देश्य राखेर यो समझदारी गरिएको छ। नबिल बैंकले हरित वित्तपोषण र कृषि सम्बन्धी परियोजना विकास तथा कार्यान्वयनमा यो समझदारी महत्त्वपूर्ण हुने जनाएको छ।

    यस सम्झौताअनुसार, नबिल बैंकले कृषि लगानीका लागि बजार विस्तार तथा क्षमता अभिवृद्धि गर्नेछ। मुक्तिनाथ कृषि कम्पनीले तालिम तथा विकास, सल्लाहकार सेवा, ग्राहक र कर्मचारीलाई खाद्य साक्षरता अभिवृद्धि गर्न सहयोग गर्ने उल्लेख गरिएको छ।

    नबिल बैंकका सीईओ ढुंगानाले देशको अर्थतन्त्रमा कृषिको महत्त्वपूर्ण भूमिका रहेको भन्दै यसको विकासमा बैंक सहयोगी बन्ने बताए। बैंकले कृषि लगानीमा लिएको लक्ष्य पूरा गर्न यो साझेदारीले राम्रो भूमिका खेल्ने उनको भनाइ छ।

    वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले कृषि क्षेत्र विकासका लागि कृषिमा क्रान्ति आवश्यक रहेको बताए। मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक ढकालले यो साझेदारीले साझा परियोजना विकासमा एक अर्कालाई सहयोग गर्ने बताए।

    नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङ कार्यक्रम सुरु गरेको थियो। यो सम्झौतामार्फत नबिल बैंकले दिगो बैंकिङ प्रयासहरूलाई अझ बढी लक्षित वर्गमा पुर्याउन सहयोग गर्ने विश्वास गरेको छ।

    नेपालको अग्रणी बैंक नबिलले पछिल्ला वर्षहरूमा हरित वित्तपोषणमा लगानी अभिवृद्धि गर्दै आएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images