काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा ल्याएको छ ।
प्राधिकरणले भविष्यमा व्यावसायिक कम्पनीलाईसमेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौँको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको डाटा सेन्टर सञ्चालनमा ल्याएको छ ।
डाटा सेन्टरका लागि तोकिएको टियर ३ अन्तर्राष्ट्रिय मापदण्डलाई पालना गरी डाटा सेन्टर निर्माण गरिएको छ । प्राधिकरणले आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न डिजिटल एनइए कार्यक्रम अन्तर्गत निर्माण गरिएको यो मोडलको डाटा सेन्टर नेपालमै पहिलो हो । डाटा सेन्टरमा प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भरलगायतका सबै डाटाहरू एकीकृत भण्डार गरी क्रमशः राखिने छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डाटा सेन्टर सञ्चालनमा आएसँगै प्राधिकरणले अब डाटा भण्डारणका लागि आफ्नो छुट्टै प्राइभेट क्लाउड बनाउन लागिरहेको बताएका छन् ।
कार्यकारी निर्देशक घिसिङले डाटा सुरक्षाका लागि नवलपरासीको सुनवलस्थित नयाँ बुटवल सबस्टेसनमा विपद् रिकभरी सेन्टर निर्माण गर्ने प्रक्रिया अगाडि बढेको उल्लेख गरे । उक्त विपद् रिकभरी सेन्टर निर्माण नहुन्जेल हाल प्राधिकरणको प्रधान कार्यालयमा रहेको पुरानो डाटा सेन्टरलाई रिकभरी सेन्टरको रूपमा सञ्चालन गरिने छ ।
सञ्चालनमा ल्याइएको नयाँ डाटा सेन्टरमा ४० वटा सूचना प्रविधि र्याक रहेका छन् । जसमा ३६ वटा सर्भर र ४ वटा नेटवर्क र्याक छन् । टियर ३ मापदण्डका लागि तोकिएका सर्तहरू पूरा गर्न आवश्यक व्यापकसहितको अविच्छिन्न विद्युत् आपूर्ति (एन प्लस वान पावर सप्लाई), चिस्यान (कुलिङ), स्वचालित अग्नि नियन्त्रण, सिसिटिभी निगरानी, सञ्चालन तथा सुरक्षाको अनवरत निगरानी लगायतको व्यवस्था गरिएको छ । अविछिन्न विद्युत् आपूर्तिका लागि वहुवैकल्पिक व्यवस्था गरिएको छ ।


विश्व खबर 




















