images
images
  • जहाज अपहरणको ४८ वर्ष : ‘दुर्गा सुवेदीको पत्र जेलरलाई, कांग्रेसीले नै मलाई मार्न सक्छन्’

    ४८ वर्षअघि पञ्चायतविरुद्ध सशस्त्र संघर्षका लागि रकम जुटाउन नेपाली कांगेसले विमान अपहरण गर्‍यो । त्यस काण्डमा सहभागी थिए : दुर्गा सुवेदी, नगेन्द्र ढुंगेल र वसन्त भट्टराई । पञ्चायती सत्ताका लागि कांग्रेस विद्रोही थियो भने उक्त दलभित्रका पनि विदोही थिए सुवेदी ।

    निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्र बहालीका लागि नेपाली कांग्रेसले ४८ वर्षअघि सशस्त्र क्रान्ति गर्दै थियो । त्यसका लागि रकम जुटाउन बीपी कोइरालाको निर्देशन र गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा तत्कालीन शाही नेपाली वायुसेवा निगमको विमान अपहरण गर्ने अन्तिम तयारी भयो । दुर्गा सुवेदी, नगेन्द्र ढुंगेल र मैले पूर्वयोजनाबमोजिम विराटनगरबाट काठमाडौंका लागि उडेको विमानलाई भारतको फारबिसगन्जमा २०३० जेठ २८ गेत सफलतापूर्वक उतार्‍यौं । फारबिसगन्ज (भारत) स्थित सुल्तान पोखरीमा रहेको प्रतिबन्धित नेपाली कांग्रेसको कार्यालयबाट तरुण पत्रिका, रिवल्बर, ग्रिनेट, राइफल र स्टेनगन लुकाएर विराटनगर नाका हुँदै नेपाल लगेर हामी जिम्मा लाउनु भनिएको व्यक्तिलाई बुझाउँथ्यौं । म नेविसंघ मोरङको सभापति थिएँ । गिरिजादाजु भन्नुहुन्थ्यो, ‘राजाले टेरेनन् । कसै गरी साथीहरूलाई जेलबाट छुटाउनु त पर्‍यो ।’ 
    पार्टीलाई आर्थिक सहयोग हुन्छ भनेर अचानक बैंक लुट्ने योजना बनायौं । सफल भएन यस्तैमा एक दिन धरान रोडमा दुर्गा दाइ भेटिनुभयो, ‘रमेश घिमिरेहरूलाई सिकाइसकें । अब तिम्रो पालो । दुई तीन दिनमा लिन आउँछु जानुपर्छ ।’ कहाँ ? ‘केसलिया खोला जाने’ भन्नुभयो । हतियार चलाउन सिकाउँछु भनेको बुझिहालें । लगत्तै रमेशसँग भेट भयो । मलाई थाहा नदिई आफू मात्र सिक्ने भन्दै रिसाएँ । मरीमरी हाँस्न थाल्यो ऊ । भन्यो, ‘दुर्गा दाइको कुरामा विश्वास गरेको ? उहाँले मलाई पनि वसन्तहरूलाई सिकाइसकें, अब तिम्रो पालो भनेर गएको २०/२५ मिनेट जति भयो ।’
    फेरि तुरुन्त आउनु भन्ने खबर आयो फारबिसगन्जबाट । सुल्तान पोखरीको अफिस कर्नेल डीबी राई र मुक्ति सेनाको जिम्मा लगाएर गिरिजादाजु बंगाली टोलमा सर्नुभएको थियो । चिया पिउँदै उहाँले भन्नुभयो, ‘तिमी सेलेक्ट भयौ । दुर्गालाई सान्दाजु अलि मानिरहनुभएको छैन । भोलि नै बनारस गई मनाएर दुई–चार दिनमा फर्किन्छु ।’ तर केका लागि सेलेक्ट भएँ ममा सोध्ने आँट भएन । आएपछि तिमीलाई खबर गर्छु मात्र भन्नुभयो गिरिजादाजुले ।
    बनारसबाट फर्किएपछि फेरि बोलाएर भन्नुभयो, ‘दुर्गालाई सान्दाजुले मान्नुभयो ।’ 
    ‘अब के गर्नुपर्‍यो त गिरिजादाजु,’ मैले भनें । बल्ल कुरा खोल्नुभयो, ‘विशेष सूत्रबाट थाहा भएको छ विराटनगर राष्ट्र बैंकले विमानबाट भारु ७५ लाख काठमाडौंमा पठाउँदै छ । त्यही विमान हाइज्याक गरेर दुर्गा र तिमीले फारबिसगन्ज ल्याउनुपर्छ । सहयोग लिनुपरे एक जना विश्वासिलो साथी लिनु ।’ ‘नगेन्द्र ढुंगेल फिट हुन्छ,’ मैले सोधें । ‘नगेन्द्र ठीक छन् उनैलाई लिनु’ उहाँले भन्नुभयो । 
    केही दिनपछि दुर्गा दाइले भन्न थाल्नुभो, ‘तिमी नेविसंघको जिल्ला सभापति हौ । राजाको नयाँ शिक्षा नीति घोषणाविरुद्ध एउटा वक्तव्य दिनुपर्‍यो ।’ मैले भनें, ‘हुन्छ दाइ, ड्राफ्ट चाहिँ तपाईंले गरिदिनुहोला ।’ भोलिपल्ट ड्राफ्ट दिएर दुर्गा दाइले भन्नुभयो, ‘राष्ट्रपुकारका पत्रकार ढुण्डीराज सुवेदीलाई दिनु छापिदिन्छन् ।’ उहाँ फर्किएपछि ड्राफ्ट हेरें । छाँगोबाट खसेझैं भएँ नि । राजा र पञ्चायती व्यवस्थालाई तथानाम गाली गरेर लेख्नुभएको छ । एउटै मिसनमा जान लागेको मलाई दाइले किन त्यस्तो वक्तव्य दिन लाउँदै हुनुहुन्छ ? गम्भीर भएर सोचें । दुर्गा दाइलाई थाहै नदिई फारबिसगन्ज गएर गिरिजादाजुलाई ड्राफ्ट देखाएँ । ‘यस्तो वक्तव्य पनि दिने हो ? सार्वजनिक हुनेबित्तिकै तिमी पक्राउ पर्छौ ? मिसनलाई असर गर्छ, दिनु पर्दैन । दुर्गा पनि कस्तो मानिस,’ उहाँ रिसाउनुभयो ।
    जेठ २३ गते पुन: फारबिसगन्ज गएँ । ‘अब समय आएको छ, कुन दिन निश्चित हुन्छ म खबर गर्छु’ भन्दै ७ सय भारु दिनुभयो गिरिजादाजुले । विराटनगर फर्केर पछि मैले ग्रिनेड र रिबल्वर दुर्गा दाइ र नगेन्द्रले रिबल्वर साथमा लिएर जहाज चढ्ने टुङ्गो लगायौं । 
    गिरिजादाजुबाट जेठ २६ गते १ बजेतिर २८ गते जहाजबाट काठमाडौं पैसा जाने निश्चित भएको खबर आयो । टिकटको व्यवस्था गरेपछि राति सुत्यौं । भोलिपल्ट बिहानै तीनै जना अच्युत राइस मिलमा जम्मा भयौं । नगेन्द्रलाई पहिल्यै एयरपोर्ट पठायौं । हामी पुग्दा नगेन्द्र जहाज चढिसकेका थिए । म र दुर्गा दाइ सँगै बस्यौं । दुर्गा दाइ झ्यालतिर बस्नुभयो । उडेको क्षणभरमै जब जहाज दुहवी हुँदै पश्चिमतिर मोड्नासाथ कोसी ब्यारेज प्रस्ट देखियो । त्यहीँबाट दक्षिण फारबिसगन्जतिर जाने एउटा नहर थियो । ब्यारेज पुगेपछि नहरको डिलैडिल लगेर जहाज फारबिसगन्ज लेन्ड गर्नुपथ्र्यो हामीले । ब्यारेज देख्नासाथ कुइनोले हल्का हानेर दुर्गा दाइलाई जान इसारा गरें । ‘गर्ने र ?’ भन्नुभयो । एउटा सानो ह्यान्ड ब्याग बोकेको थिएँ । ग्रिनेड र रिबल्वर त्यसैमा थियो । हतारहतार देब्रे हातले ग्रिनेट र दाहिने हातले रिबल्वर समाएर इसारा गरेको थिएँ । दुर्गा दाइको कुरा सुनेर त मलाई के भयो के, जुरुक्क उठेर २/३ फड्कोमा ककपिटभित्रै छिरें । पाइलटको कन्चटमा रिबल्वर तेर्‍याउँदै भनें, ‘हामीले विमान हाइज्याक गरिसक्यौं ।’ अनि पाइलट र कोपाइलटको कानबाट सञ्चार सेट झिकिदिएँ । भोल्युम पनि बन्द गरिदिएँ । बाहिर अरू कसैसित सम्पर्क गर्न नपाउन् भन्नका लागि हामीलाई त्यस्तो गर्नू भन्ने निर्देशन थियो ।
    विमान बिस्तारै तलतिर झर्न लाग्यो । सायद चालक दलका सदस्य नर्भस भए । तुरुन्त विमान कन्ट्रोल गरे । कोसी ब्यारेजबाट अघि बढिसकेको थियो जहाज । मैले पाइलटलाई कडा स्वरमा भनें, ‘विराटनगरतिर घुमाउनुहोस् ।’ अनि पछितिर फर्किएर हेर्छु त– दुर्गा दाइलाई परिचारकले अंगालो हालेर ख्याप्प पक्रेको छ । पछि नगेन्द्रले रिबल्वर देखाउँदै परिचालकको घाँटी समातेर घचेटिदिएँ । ऊ उत्तानो परेर लड्यो । अनि काँप्दै ककपिट भित्र पसेका दुर्गा दाइले कोपाइलट श्रीदेव वैद्यको कन्चटमा रिबल्बर तेस्र्याए । कोपाइलटले अत्तालिँदै कहाँ लाने भनेर सोधे, ‘दुर्गा दाइले तिब्बत भनिदिनुभयो ।’ अब कोपाइलट भन्न थाले— फ्युल पुग्दैन । ‘त्यसो भए इन्डिया,’ दुर्गा दाइले भने । फेरि पाइलटले सोधे, ‘इन्डिया कहाँ ?’ हत्तपत्त मैले भनें, ‘फारबिसगन्ज ।’ 
    क्षणभरमै फारबिसगन्जमै पुग्यौं । जमिनमा ३, ४ जना साथीले झन्डा हल्लाइरहेको देखियो । यही हो ओराल्ने ठाउँ भन्दा पाइलटले भन्यो, ‘यो चौरमा खाल्डाखुल्डी होला कसरी ओराल्ने ?’ दुर्गा दाइ कराउनुभयो, ‘छैन छैन तपाईं ल्यान्ड गर्नुस् ।’ जहाज ‘ल्यान्ड’ गरेपछि खुसीको सीमै रहेन । 
    फटाफट पैसा राखेका ३ वटा टिनमा बाकस झिकियो । विनोद अर्याल दाइले रिभल्बर देखाउँदै जहाज उडाउन संकेत गरेपछि त्यही समय कोपाइलटले ‘बेस्ट अफ लक’ भन्दै मसित हात मिलाए । अनि म पछि सर्दै विमानबाट ओर्लिएँ । मनोहरि बराल, सुशील कोइराला, चालक हरि लामा (वीरु) थिए । छेउमा हरियो विलिस जिप देखें । १५/२० मिनेटपछि सिमरा हाइवेको पुल नजिक पुग्यौं, गिरिजादाजु पर्खी बस्नुभएको थियो । तीनवटा गाडीमा एक एक बाकस राख्यौं । गिरिजादाजुले मलाई आफ्नो गाडीमा बस्न इसारा गर्नुभयो ।
    सिलगुडी हुँदै २ बजेतिर दार्जिलिङ लालप्रसाद शर्माजीको घरमा पुग्यौं । बाटोभरि विमान उडेदेखि ल्यान्ड गर्दासम्मका घटनाक्रम सोध्नुभयो गिरिजादाजुले । सबै बताएँ । चार बजे नगेन्द्रहरू पनि आइपुगे । नोटले भरिएका वाकस शर्माजीको घरमा राख्यौं । दस–दस लाखका दरले ती बाकसमा भारु ३० लाख रहेछन् । ७५ लाखको सूचना पाएका थियौं हामीले । म र नगेन्द्र भोलिपल्ट राति १० बजे बनारस पुग्यौं । 
    सारनाथमा गिरिजादाजु र नोना आमा हामीलाई पर्खिरहनुभएको थियो । सुत्ने बेला गिरिजादाजुले भन्नुभयो, ‘ल यो सान्दाजुको कोठा हो सुरक्षित हुन्छ यसैमा सुत्नू ।’ पर्सिपल्ट विनोद दाइ र मनोहरि दाइ पनि आइपुग्नुभयो । हामी चारै जना सान्दाइको कोठामै बस्यौं । दुई दिनपछि दिउँसो सान्दाजु पनि आइपुग्नुभयो ।
    त्यही दिन सान्दाजु, गिरिजा दाजु र नोना आमा हामी बसेको कोठामा आउनुभयो । हामी जर्‍याकजुरुक्क उठ्यांै । सान्दाजुले बस्न इसारा गर्नुभयो । जुद्धबहादुर श्रेष्ठ पनि विमानमा थिए भनेर सोध्नुभयो सान्दाजुले । मैले भनें, ‘थिएनन् ।’ दोस्रो प्रश्न ‘विदेशीहरू थिए ?’ मैले भनें, ‘थिएनन् ।’ तेस्रो प्रश्न, ‘दुर्गाले विमानभित्र यात्रुहरूको बीचमा भाषण गरेका थिए ? मैले फेरि भनें, ‘थिएन, दुर्गा दाइ त अन्तसम्म ककपिटमै बस्नुभयो । नगेन्द्र यहीँ छ, सान्दाजुले सोधे भइहाल्यो नि ।’ नगेन्द्रले भने, ‘वसन्तले भनेको ठीक हो सान्दाजु ।’
    ‘तिमीहरूको कुरा ठीक हुन् भने दुर्गाले मसित किन झूट बोले ?’ सान्दाइ अलि रिसाउनुभयो । हाइज्याकिङपछि पहिलो पटक सान्दाजु र गिरिजा दाजुको भेट भएको थियो । उहाँहरूबीच कुरा हुँदा सान्दाजु दुर्गा दाइले बताएका कुरा भन्नुहुँदो रहेछ, अनि गिरिजा दाजु मेरो । दुर्गा दाइ र मेरो विवरण फरक भएकाले हामीलाई सोध्नुभएको रहेछ । त्यसै बेला गिरिजा दाजुबाट थाहा पाएँ– राष्ट्र बैंकबाट काठमाडौं पैसा जाने खबर मदनप्रसाद अर्यालले दिनुभएको रहेछ । 
    भोलिपल्ट साँझ हामी बीपीका साथी देवेन्द्रप्रसाद सिंहको पुरानो घर पुगेर अर्को दिन जयप्रकाश नारायणको पुख्र्यौली घर सीतापदियरा गयौं । एक महिनापछि सीतापदियराबाट आरा हुँदै बम्बई लाग्यौं । सान्दाजुको एक साथीले हामीलाई अलग–अलग खाने बस्ने व्यवस्था मिलाउनुभएको थियो । दुर्गा दाइ बम्बई बस्दिनँ, म बनारस जान्छु भनेर वादविवाद गर्नुहुन्थ्यो । ‘सुशीला भेट्न आएकी छ, बनारस जान्छु’ भन्नुहुन्थ्यो । त्यही बेला जन्डिस भएर उहाँलाई कस्र्तुबा गान्धी अस्पतालमा भर्ना गरियो । 
    फेरि नगेन्द्रलाई पनि जन्डिस नै भयो । त्यही अस्पताल भर्ना भए । यही बीचमा विनोद दाइ र सुशील दाइले दुर्गा दाइको सुटकेसबाट ठूलो रकम फेला पारे । यो सुनेर म र मनोहरि दाइ चकित भयौं । विनोद दाइ र सशील दाइले पैसा पार्टीमै जिम्मा दिए । जन्डिस निको भएर अस्पतालबाट फर्किएपछि दुर्गा दाइ पार्टी निर्देशनविपरीत ‘सुशीला भेटन आएकी छन्, हिँडें’ भन्दै बनारस लाग्नुभयो ।
    …
    अर्को घटना स्मरणीय छ । दिल्लीमा सधैं म एक बंगालीको गेस्टहाउसमा बस्थें बीपीले मिलाई दिनुभएको । म भए पनि नभए पनि साँचो लाएर एउटा कोठा राखिएको हुन्थ्यो । म त्यहाँ गएँ । रिसेपसनिस्टलाई सधैं बस्ने कोठाको चाबी मागे । उनले ‘म चिन्दिनँ को हो तपाईंकै एक जना मानिस बसेका छन्’ भने । उसको कुरा सुनेर छक्क पर्दै सरासर कोठातिर लागें । एकै पटक दुर्गा दाइलाई देख्छु बा ! अनि हामीले सँगै चिया पियौं । उहाँले भन्नुभयो, ‘तिमी नुहाइधुवाइ गर एक छिन ग्रिन पार्क घुुमेर आउँछु अनि सँगै खाना खाउँला ।’
    उहाँ निस्केपछि बाथरुम गएँ, फ्रेस भएँ । असाध्य गर्मी पंखा चलाउँदा टेबलबाट कागज हावाले उडाएर तल झरे । यसो हेर्छु, शरीरै फुलेर आयो । छटपटी लाग्यो । केही क्षणमा राजेन्द्र (वीरेन्द्र दाहाल) आए । हामी दुवै बाहिर आयौं । 
    पार्कतिर जाँदै गर्दा राजेन्द्रले भने, ‘दुर्गाको स्वास्थ्य ठीक छैन ५/६ महिना सिमला गएर उनीसँगै बस भन्नलाई सान्दाइले तिमीलाई बोलाउनुभएको हो ।’ मैले भने ‘एक पटक सान्दाजुलाई नभेटी त कुनै हालतमा जान्नँ ।’ बिहान फेरि राजेन्द्र आएर मलाई हिँड्न इसारा गरे । एउटा थ्री ह्विलर स्कुटर थियो । त्यसैमा बस्न भनेर स्कुटर चढे । सुशील दाइ पनि त्यहीं हुनुहुँदो रहेछ । त्यही स्कुटर चढेर तीनै जना सीधै सान्दाजुका साथी राजेश्वरबाबुको घर पुग्यौं । सान्दाजुसँग शैलजा दिदी पनि हुनुहुन्थ्यो । मुस्कुराउँदै मलाई अर्को कोठामा लगेर बीपीले सोध्नुभयो, ‘किन भेट्न खोजेका भनेर ।’ गेस्टहाउसमा आफूले हेरेका कागजबारे विस्तारमा बताएँ— दुर्गा दाइले हरि सापकोटा, दुर्गा आचार्य, कृष्णबहादुर राउत, जयहरि ढुंगाना र राजेन्द्र विरहीलाई तपाईं, गिरिजा दाजु र पार्टीमाथि तथानाम गर्दै चिठ्ी लेखेका छन् । यस्तो अनुशासनविहीन मानिससित म कसरी सिमला जाउँ सान्दाजु । मेरो कुरा सुनेर उहाँ चकित हुनुभयो, अनि गम्भीर मुद्रामा भन्नुभयो, ‘ती चिठ्ी लिएर आउन सक्छौ ।’ 
    मैले भनें, ‘कसरी ल्याउनु, दुर्गा दाइ कोठामै छन् । झगडा गर्लान् । होहल्ला भयो भने अरूले थाहा पाउलान् । तर एउटा उपाय हुन सक्छ ।’ उहाँले उपायबारे सोध्नुभयो । मैले सुझाएँ, ‘राजेन्द्र मसँगै गेस्टहाउस जाउन् । तपाईंलाई भेटन दुर्गा दाइसँगै लिएर आउन् । अनि सबै चिठ्ठी लिन सक्छु ।’ २ मिनेट जति केही नबोली सोचेपछि उहाँले भन्नुभयो, ‘ठीक छ, सबै चिठ्ठीहरू कनाट प्लेस गएर ब्रह्मानन्दलाई दिनू । कुनै समय जयप्रकाश नारायणका पीए रहेका ब्रह्मानन्दजी चन्द्रशेखरजीले निकालेको योङ्ग इन्डिया पत्रिकाका सम्पादक हुन् । म टेलिफोन गरिदिन्छु । चिठ्ठी दिनू, अनि आजै बम्बई फर्कनू, टिकट र खर्चको व्यवस्था ब्रह्मानन्दले गरिदिन्छन् ।
    राजेन्द्रसँग गेस्टहाउस गएँ । ‘सान्दाजुले बोलाउनुभएको छ दाइ’ भन्यौं । सुतिरहेका थिए । फटाफट उठेर राजेन्द्रसित गए । त्यही मौका पारेर चिठी खोजें, पाइनँ । सुटकेसमा राखेका रहेछन् । सरासर गएर ब्रह्मानन्दजीलाई बुझाइदिएँ । बम्बई जाने टिकट र खर्च दिए मचाहिँ बम्बई लागेँ ।
    उता बीपीलाई भेट्न गएका दुर्गा दाइलाई सान्दाजुले २ थप्पड हान्नुभएछ, मलाई राजेन्द्रले पछि सुनाए । 
    …
    विमान अपहरणकाण्डमा पहिला चक्र बास्तोला त्यसपछि दुर्गा दाइ अनि सुशील दाइ पक्राउ पर्नुभयो । मनोहरि दाइ र विनोद दाइ त्यस बेला गुलमोहर पार्कस्थित सान्दाजुको निवासमा बस्नुभएको थियो । म पनि सान्दाजुलाई भेट्न गएको थिएँ । सान्दाजु र म चेस खेल्दै थियौं । मनोहरि दाइ सामान लिन जानुभएको आइपुग्नुभएन । ‘यति ढिलो त नगर्नुपर्ने, या त एक्सिडेन्टमा पर्नुभयो या एरेस्ट हुनुभयो’ भनेर धेरै राति सुत्न गयौं । आधा घन्टापछि ढोकामा टक–टकको आवाज सुनेँ । सान्दाजुले भन्नुभयो, ‘तिमी अहिले नै जयपुर जाऊ ।’ ‘आज्ञा सान्दाजु’ भनें । खर्च दिनुभयो । राति ११ बजिसकेको थियो । सान्दाजुसँगै तल ओर्लें र पछाडिको ढोकाबाट बाहिर निस्कें । एउटा टेम्पु थियो त्यसैमा चढेर कनाट प्लेस जाँदै थिएँ । एकै पटक २ वटा कारले घेरी मलाई गिरफ्तार गरी सीधै लाल किल्लाभित्र लगे । मनोहरि दाइलाई पहिले नै ल्याइसकेका रहेछन् । तीन दिनसम्म सोधपुछ गरेर आँखा छोपेर तीस हजारी कोर्ट लगे । न्यायाधीशले के भने थाहा भएन । अनि हामीलाई सीधै तिहाड जेल पुर्‍याइयो ।
    १० दिनपछि विहारको पूर्णिया जेल चलान भयौं । गार्ड बस्ने पुलिसहरूबाट थाहा भयो दुर्गा दाइ पनि त्यही हुनुहुँदो रहेछ । बिहान बेलुकाको खाना डाक्टरले जाँचेपछि मात्र दुर्गा दाइले खान पाउनुहुँदो रहेछ । डाक्टर नआएको दिन भोकै बस्नुपर्ने ! चक्र दाइ र सुशील दाइ भागलपुर जेलमा रहेको पनि त्यही थाहा पायौं । एक महिनापछि विनोद दाइलाई पनि लिएर आए । २०३३ पुसमा नेपाल फर्किनुअघि सान्दाजु, गणेशमानजी जेलमै भेट्न आउनुभएको थियो । 
    यस्तैमा एक दिन गिरिजादाजु, नोना आमा जेलमा आउनुभएको थियो हामीलाई भेट्न । म, मनोहरि दाइ र विनोद दाइलाई मात्र बाहिर ल्याइयो । दुर्गा दाइ भित्रै हुनुहुन्छ । गिरिजा दाजुले जेलरलाई अनुरोध गरेपछि दुर्गा दाइलाई पनि ल्याए । हामी लहरै कुर्सीमा बसेका थियौं । जेलरले चिया मगाए । चिया आएपछि जेलरले विचित्र काम गरे । गिरिजा दाजुको सामुन्नेको चिया दुर्गा दाई र दुर्गा दाइ सामुन्नेको चिया गिरिजा दाजुलाई दिए । यो के गरेको भनेर जेलरलाई भन्यौं, गिरिजा दाजु पनि रिसाउनुभयो । चिया पिउँदै गफिँदै ४५ मिनेट बितायौ । अनि दुर्गा दाइलाई जेलभित्र लगियो । हामी त्यहीँ थियौं । सरासर आफ्नो अफिस गएर जेलरले एउटा कागज गिरिजा दाजुलाई पढ्न दिए । पढिसकेर उहाँले जेलरलाई नै फिर्ता दिनुभयो । जेलर फेरि त्यो कागज राख्न अफिसतिरै लागे । त्यही मौकामा हामीले गिरिजा दाजुलाई ‘हैन के रहेछ त्यसमा’ भनेर सोध्यौं । ‘नेपाली कांग्रेसका मानिसहरूले नै मलाई मार्न सक्छन्, त्यसकारण मेरो सुरक्षा गर्नुपर्‍यो’ भनेर दुर्गा दाईले लिखित निवेदन मेजिस्ट्रेटलाई दिनुभएको रहेछ ।
    हामी ३ जनालाई पूर्णियामै राखी दुर्गा दाइलाई भागलपुर जेल सरुवा गरियो । 
    १८ महिनापछि मनोहरि दाइ, विनोद, म, सुशील दाइ, चक्र दाइ जमानतमा छुट्यौं । दुर्गा दाइलाई छोड्न भारत सरकारले मानेन । गिरिजा दाजुको ठूलो प्रयासले कर्पुरी ठाकुर, चन्द्रशेखरजीले प्रधानमन्त्री मोरारजी देसाईलाई अनुरोध गरेर मात्र हामीभन्दा ६ महिनापछि दुर्गा दाइ छुट्नुभयो । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images