
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई आफ्नो अभिव्यक्ति फिर्ता लिएर माफी माग्न निर्देशन दिएको छ ।
उनले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको भनेर आपत्तीजनक अभिव्यक्ति दिएका थिए । नेता बैद्यले शुक्रबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उनले प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यकता परेको बताएका हुन् ।
सोही विषयलाई लिएर अहिले विभिन्न सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ । सर्वत्र आलोचना भएपछि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सदनमा संयमता गुमाउन नहुने भन्दै अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न वैद्यलाई निर्देशन दिइएको बताए ।
त्यस्तै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्र बाँनियाले पनि विज्ञप्ति निकालेर आफ्ना अभिव्यक्ति फिर्ता लिन वैद्यलाई निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्