images
images
  • यस्ताे छ प्रदेश १ को नीति: सासुबुहारी सम्मानदेखि मेरो कृषि मेरो पौरखसम्म


    विराटनगर। प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नीति तथा कार्यक्रम पेश गरेका हुन् ।

    प्रदेश सरकारले पेस गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि र रोजगारलाई प्राथमिकतामा राखिएको छ । मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रम नीतिमा समेटिएको छ । योजनामा विदेशबाट आएकाहरुको सीपको प्रयोग गर्दै स्वदेशमै उद्यमशील बनाउने लक्ष्य राखिएको छ ।

    ग्रामीण भेगमा रहेर सामाजिक रूपमा योगदान पुर्‍याएका आमाहरूको सम्मानका लागि राष्ट्रपति आमा सम्मान कार्यक्रम सञ्चलन गरिने भएको छ । सासुबुहारी सम्मान, ज्येष्ठ नागरिक तीर्थाटन, स्वास्थ्य उपचार र दन्त उपचार कार्यक्रम नीतिमा समेटिएको छ ।

    सरकारले स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ । मेची अस्पताललाई दुई सय, धनकुटा र पाँचथर जिल्ला अस्पताललाई सय–सय तथा अन्य जिल्ला अस्पताललाई न्यूनतम ५० शैय्यामा स्तरोन्नति गर्ने नीति लिएको छ । विपन्न वर्गको उपचारका लागि प्रदेशमा उपचार कोष स्थापना गरिने छ ।

    कोभिड–१९ उपचार केन्द्रलाई कोभिडको पूर्ण रोकथाम र नियन्त्रणपश्चात प्रादेशिक प्रसूति तथा स्त्री रोग अस्पतालका रुपमा रुपान्तरण गरिनेछ ।

    माध्यमिक विद्यालयमा तालिम प्राप्त शिक्षकशिक्षिकाद्वारा किशोरकिशोरीलाई नियमित मनोसामाजिक विमर्श तथा यौन शिक्षा प्रदान गर्न स्थानीय तहहरूसँग समन्वय गर्ने सरकारको नीति छ ।

    मोरङको पथरीमा महासङ्ग्रहालय निर्माण गर्ने गर्ने नीति लिएको छ ।

    मेरो कृषि मेरो पौरख अभियान सञ्चालन गरिने छ । बाँझो नराख्ने नीतिअनुसार सबै जमिनमा कृषि गर्नका लागि प्रोत्साहन गरिने छ । भूमि बैङ्कको अवधारण कार्यान्वयन गरिने छ । अर्गानिक कृषि अभियानमा जोड दिन आमा समूहलाई परिचालन गर्ने प्रदेशले नीति लिएको छ ।

    स्थानीय तहसँगको सहभागितमा सिचाइ पूर्वाधार र शीत भण्डारण सञ्चालन गर्ने लक्ष्य लिएको छ । बिउ तथा बेर्ना आपूर्तिका लागि प्रोत्साहन गर्ने नीति लिएको छ । प्राङ्गारिक खेतीका लागि संस्थागत विकास गर्ने नीति लिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images