images
images
  • प्रहरी कर्मचारीको गुनासो सुन्न उच्चस्तरीय संयन्त्र सुरु गरेको नवनियुक्त आईजीपी केसीको घोषणा

    काठमाडौं– नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता जनाएका छन् ।

    गृह मन्त्रालयमा आज प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्नबाट शुशोभित भएपछि संक्षिप्त सम्बोधन गर्दै उनले संविधान र कानुनप्रति अविचलित रहिरहने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    प्रहरी सङ्गठनको मर्यादा र निष्पक्षतामा आफूले कुनै सम्झौता नगर्ने उनले बताए । महानिरीक्षक केसीले जनतासँगको सम्बन्धलाई प्रहरी सङ्गठनको महत्त्वपूर्ण पुँजी भएको औंल्याए ।

    ‘आजैदेखि हामी सबै मिलेर कर्तव्यबाट सेवा प्रवाहसम्मको यात्रा सुरु गरौं, जहाँ नागरिकले प्रहरी देख्दा डर होइन, भरोसा महुसस गरुन्, प्रत्येक प्रहरीले आफ्नो बर्दीमा गर्व गर्न सकोस्’, उनले भने ।

    उनले आधारभूत तहलगायत सम्पूर्ण प्रहरी कर्मचारीको गुनासो सुन्न आफ्नै सचिवालयमा तत्काल उच्चस्तरीय संयन्त्र सुरु गर्ने घोषणा गरे ।

    प्रहरी महानिरीक्षक केसीले सीमित स्रोतसाधन, भवनको अभाव, लामो कार्यघण्टा, सरुवा बढुवामा निष्पक्षता र मानसिक स्वास्थ्यलगायत पक्षमा आफू गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    उनले प्रहरी सङ्गठनलाई दलीय प्रभावबाट मुक्त राख्न राजनीतिक दलबाट सहयोगको अपेक्षा गरेको बताए ।

    यसअघि उनलाई गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाइदिएका थिए । उनले आजैदेखि प्रहरी महानिरीक्षक पदको कार्यभारसमेत सुरु गरेका छन् ।

    प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर अतिरिक्त प्रहरी महानिरीक्षक रहेका केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images