images
images
  • ब्याजदर घटेपछि नेप्से १३.१८ अंकले बढ्यो

    काठमाडौँ- मंगलबार नेप्से परिसूचक १३.१८ अंक बढेर १८६४.६२ विन्दुमा पुगेको छ। बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाएसँगै नेप्सेमा सुधार देखिएको हो ।

    मंगलबार बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक महिनाका लागि ब्याजदर प्रकाशित गरेका थिए। जसमध्ये अधिकांशले ब्याजदर घटाएका छन्। २० मध्ये १४ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन्। त्यसैको सकारात्मक प्रभाव आज बजारमा देखिएको हो।

    आज नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ३.०८, फ्लोट इण्डेक्स १ र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१० अंक बढेको छ। कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब २५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २८९ स्टकको ४५ हजार ४५६ पटकको कारोबारमा १ अर्ब रुपैयाँ बराबरको ३८ लाख १३ हजार कित्ता शेयर कारोबार भएको छ।

    कारोबार रकमका आधारमा यस दिन हाथवे इन्भेष्टमेन्ट शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, सानिमा जीआईसी इन्स्योरेन्सको ४ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

    आज एनआईबिएल प्रगति फण्डको इकाईमूल्य सर्वाधिक ७.३५ प्रतिशत बढेको छ। श्वेत गंगा हाइड्रोपावर, सिद्धार्थ इक्विटी फण्ड र मेगा म्युचुअल फण्ड १ को मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images