काठमाडौंं- श्रीमान् चेतन मानन्धरको हत्या गर्ने रिगल भनिने योगराज ढकालको कैद मिनाहा विरुद्ध श्रीमती भारती मानन्धर रिले अनशन बस्ने भएकी छन् । गहभरी आँसु लिएर मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेकी उनले भनिन्, ‘जुन म पहिला पीडामा थिएँ, राष्ट्रपतिले फेरि दोहो¥याइदिनुभयो । पहिलाको दृश्य आँखामा झल्झली भइरहेको छ ।’
लामो कानुनी लडाईं लडेर रिगललाई कारागार पु¥याएको भन्दै उनले पीडित परिवारको सहमति विना आममाफी दिने अधिकार राष्ट्रपतिलाई दिन नहुने बताइन् ।
‘यदि मेरो ठाउँमा उहाँको छोरी चेलीबेटी हुनुहुन्थ्यो भने उहाँले के गर्नुहुन्थ्यो ?’ उनले प्रश्न गरिन्, ‘यस्तो दिन देखाउनुहुन्थ्यो ?’गुन्डा नाइके रिगल भनिने योग ढकालको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरी उनलाई फेरि कैदमा पठाउन माग राख्दै चेतनकी पत्नी भारती शेर्पाले आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी हुन् ।
उनले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय पनि बदर गर्न माग गरेकी छन्।
२०७२ असार २८ गते दिउँसो ३ बजे नेपालगञ्जको धम्बोजी चोकमा चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग गुन्डा नाइके योग ढकाललाई सर्वस्व सहित जन्मकैदको फैसला सुनाइएको थियो।। चेतनलाई खुँडा हानेर ज्यान लिँदा रिगल नेपाली कांग्रेसको युवा संगठन तरुण दलका क्षेत्रीय सभापति थिए।
अभियुक्त ढकालले नेपालगन्ज–८ का मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेकोमा दोषी ठहर गर्दै जिल्ला अदालत बाँकेले २०७६ वैशाखमा सर्वस्व सहित जन्मकैदको सजाय सुनाएको थियो। घटना दोषी ठहर भएका अन्य १२ जनालाई ३ वर्षदेखि १० वर्षसम्मको सजाय भएको थियो। जन्मकैदको सजाय सुनाएका रिगललाई आममाफी दिएपछि चर्को आलोचना भइरहेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा गुन्डा नाइके रिगलसहित छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेका थिए। उनले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वोच्च अदालतको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेको बताइएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा कैद मिनाहा गर्ने राष्ट्रपतिको अधिकारबारे संकल्प प्रस्ताव पेस गरेको छ । रास्वपाका सांसदहरू सचेतक निशा डाँगी, सांसदहरू डोलप्रसाद अर्याल र अशोककुमार चौधरीले संवैधानिक व्यवस्थाको मनसाय स्पष्ट पार्न भन्दै संकल्प प्रस्ताव पेस गरेका हुन् ।
प्रतिनिधिसभामा मंगलबार दर्ता भएको प्रस्तावमा कैद माफी लहडमा गरिँदै आएकोमा त्यसलाई दीर्घकालीन रूपमा नियन्त्रण गर्नुपर्ने भनिएको छ ।























