काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १८.४५ अङ्कले बढेर २०२२.९१ को बिन्दुमा कायम भएको हो ।
आज विभिन्न कम्पनीका २८६ कम्पनीको ८७ लाख ४ हजार ४७७ कित्ता शेयर ७८ हजार ६ सय १६ पटक खरिदबिक्री हुँदा रू २ अर्ब ९ करोड ३८ लाख ९ हजार ५१८ बराबरको कारोबार भएको छ ।
होटल तथा पर्यटन समूहको उपसूचक ०.१८ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जलविद्युत् समूह ३.९ प्रतिशत र वित्त समूहको उपसूचक १.४४ प्रतिशतले बढेको छ ।
मेन्छियाम हाइड्रोपावर लिमिटेड र मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, शुभम् पावर लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशत र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मूल्य घट्नेमा भने हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड छ । कम्पनीको शेयर मूल्य ५.८७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआइसी एसिया बैंक लिमिटेडको रू ८ करोड ३४ लाख ६६ हजार २२४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर लिमिटेडको ४ लाख १४ हजार ८ सय ५० कित्ता शेयर खरिदबिक्री भएको छ ।


विश्व खबर 

















