काठमाडौं- नेपाली सेनाका सहायक रथी यामबहादुर अधिकारीको पदावधि ३ वर्ष थप्ने निर्णय गरिएको छ । मन्त्रिपरिषद्को बैठकले अधिकारीको पदावधि ३ वर्ष थप्ने निर्णय गरेको हो ।
उनी माओवादीको सेनाबाट नेपाली सेनामा समायोजन भएका हुन् । सेनामा समायोजन हुँदा उनले महासेनानीको दर्जा पाएका थिए ।
असोज १ गतेबाट अवकाशमा जान लागेका अधिकारीको पदावधि थप भएको सैनिक प्रवक्ता (सहायक रथी) कृष्ण प्रसाद भण्डारीले बताए ।
उनले भने–‘रक्षा मन्त्रालयबाट सहायक रथी अधिकारीको पदावधि मन्त्रिपरिषद् बैठकबाट थपिएको जानकारी सहितको पत्र नेपाली सेनालाई प्राप्त भएको छ ।’
धादिङको मार्पाक घर भएका अधिकारी हाल वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको निर्देशक पदमा कार्यरत छन् । २०७६ असोज १ मा उनी सहायक रथिमा बढुवा भएका थिए ।
विशेष पद सिर्जना गरेर उनलाई एक पटकका लागी सहायक रथीमा बढुवा गरिएको थियो । चार वर्षे पदावधिका कारण उनी असोज १ मा अवकाशमा जान लागको थिए । मन्त्रिपरिषद्को निर्णयसँग थप ३ वर्ष उनी सेनामा रहन्छन् ।























