images
images
  • घुससम्बन्धी प्रकरणमा विष्णुपुर गाउँपालिकाका अध्यक्ष यादव निलम्बित

    राजविराज- सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव निलम्बित भएका छन् । घुससम्बन्धी प्रकरणमा अध्यक्ष यादवलाई अख्तियार अनुसन्धान आयोगले नियन्त्रणमा लिएर विशेष अदालतबाट म्याद थप गरी थुनामा राखेसँगै उनी निलम्बित भएका हुन् ।

    अख्तियारले उनलाई भदौ ६ गते नियन्त्रणमा लिएको थियो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्णुपुर गाउँपालिकालाई पत्राचार गर्दै अध्यक्ष यादव निलम्बनमा परेको जानकारी गराएको हो । गत भदौ ७ गते आयोगले गाउँपालिकालाई पत्राचार गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १६(४) बमोजिम विशेष अदालतबाट म्याद थप भइ थुनामा रहेका सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक आयोग ऐन २०४८ को दफा १७ र तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ वमोजिम स्वतः निलम्बन हुने प्रावधान अनुरूप अध्यक्ष निलम्बन भएको जानकारी दिएको हो ।

    घुस सम्बन्धी विषयमा सोधपुछ र अनुसन्धानका लागि पालिका अध्यक्ष यादवलाई भदौ ६ गते बुधबार साँझ अख्तियारले नियन्त्रणमा लिएको थियो । गत साउन ३१ गते सोलार सम्बन्धी एक योजनामा २ लाख नगद र ३ लाखको चेक घुसवापत लिँदै गर्दा विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्यूटर अपरेटर वीरेन्द्र यादवलाई आयोगको टोलीले राजविराजस्थित गजेन्द्र चौकबाट नियन्त्रणमा लिएको थियो ।

    सो प्रकरणमा पालिका अध्यक्ष यादवको समेत संलग्नता रहेको अख्तियारको दाबी छ । विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशकुमार यादव अख्तियारको कारबाहीमा परी निलम्बन हुने सप्तरीका तेश्रो पालिका प्रमुख हुन् ।यसअघि राजविराजस्थित राजरंगशालाको निर्माणमा अनियमितता गरेको आरोपमा निर्माण कम्पनीको संचालकको हैसियतमा अख्तियारले राजविराज नगरपालिकाका निर्वाचित नगरप्रमुख भिमराज यादवमाथि विशेष अदालतमा आरोपपत्र दायर गरेपछि भिमराज निलम्बित भएका थिए ।

    गत साउन ३२ गते विशेष अदालतले भिमराजमाथि आरोप आंशिक ठहर गर्दै जरिवाना समेत गरेको छ । यस्तै घुस सम्बन्धी एक अर्को प्रकरणमा अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेपछि सप्तरीको शम्भुनाथ नगरपालिकाका नगरप्रमुख जितेन्द्र प्रसाद गुप्ता पनि निलम्बित छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images