images
images
  • विनोद चौधरी – Binod Chaudhary – लाई किनारा लगाएर कांग्रेसको कोषाध्यक्ष बनेका उमेश श्रेष्ठ – Umesh Shrestha – को हुन् ? देउवाको रोजाइमा कसरी परे ?

    काठमाडौं – नेपाली कांग्रेसका दिग्गज नेतालाई किनारा लगाउँदै अर्बपति व्यवसायी उमेश श्रेष्ठ – Umesh Shrestha – नेपाली कांग्रेस (Nepali Congress) को कोषाध्यक्षमा मनोनित भएका छन् ।

    कांग्रेसभित्र नाम चलेका दर्जनौ नेतहरु कोषाध्यक्षका आकांक्षी भएपनि पछिल्लो दशकमा मात्रै कांग्रेसको केन्द्रीय राजनीतिमा होमिएका श्रेष्ठ कोषाध्यक्ष मनोनित भएका हुन् ।

    कोषाध्यक्षका लागि कांग्रेसभित्र अर्का अर्बपति व्यवसायी विनोद चौधरी (Binod Chaudhary) ले पनि इच्छा देखाएका थिए । कांग्रेस पार्टी चलाउन आवश्यक रकम जोहो गर्न सक्ने व्यक्तिलाई कोषाध्यक्ष बनाउने कुरामा सभापति देउवाले राम्रो पात्र खोज्दा खोज्दै करिब ३ वर्ष बिताए । सबैको नाडी छामेपछि अन्तत; देउवाले आवश्यक पर्दा जे सुकै काम पनि आफू अनुकुल गर्न सक्ने श्रेष्ठलाई कोषाध्यक्ष बनाएको कांग्रेसका एक नेताले बताए ।

    विनोद चौधरीले इच्छा र दबाब दुवै दिँदा पनि देउवाले श्रेष्ठलाई छानेको कांग्रेसका नेताहरु बताउँछन् । यसका अलवा अन्य दर्जनौ नेताहरु पनि कोषाध्यक्षको आकाँक्षी रहेको नेताहरुले बताएका छन् ।

    को हुन् श्रेष्ठ ? कसरी परे देउवाको रोजाइमा ?

    खासगरी देउवालाई दोस्रोपटक पार्टी सभापति बनाउन ठूलो सहयोग गरेका व्यवसायी श्रेष्ठ त्यतिबेलै जनजाती कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भए । संविधान सभा र प्रतिनिधि सभामा समानुपातिक सांसदहुँदै कोरोना कालमा स्वास्थ्यराज्यमन्त्रीसमेत भएका उनी २०७९ को निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट प्रतक्षतर्फ चुनाव लड्दा रास्वपाका सभापति रवि लामिछानेसँग पराजित भएका थिए ।

    व्यवसायीका रुपमा श्रेष्ठले शिक्षा, स्वास्थ्य, पर्यटन, ऊर्जा, कृषि र बैंकिङ क्षेत्रमा लगानी गरेका छन् । शिक्षा क्षेत्रमा सबैभन्दा धेरै लगानी गरेका उनले पछिल्लो समयमा बैंक, स्वास्थ्य, पर्यटन, कृषि र जलविद्युत् क्षेत्रमा पनि लगानी बिस्तार गरेका छन् । श्रेष्ठ यसअघि निजी विद्यालयहरुको संघ प्याब्सन र हिसानमा अध्यक्ष समेत भएका थिए ।

    प्राइम बैंकको व्यक्तिगत तर्फका सबैभन्दा ठूलो सेयरधनी उमेश श्रेष्ठ हुन् । बैंकमा श्रेष्ठको २‍.४६ प्रतिशत सेयर स्वामित्व अर्थात ४७ लाख ७३ हजार १३७ कित्ता सेयर स्वामित्व छ । प्राइम बैंक – Prime Bank – को सेयरको बजार मूल्य अनुसार श्रेष्ठसँग भएको सम्पतिको मूल्य १ अर्ब २८ करोड रुपैयाँभन्दा बढी हुन्छ ।

    लिटिल एञ्जल्सबाट उदाएका श्रेष्ठ

    श्रेष्ठ ललितपुरको हात्तिवनमा रहेको लिटिल एञ्जल्स – Little Angels School – स्कुलका संस्थापक हुन् । त्यहि स्कुलबाट शिक्षा व्यवसायमा सफल भएका उनले पछि विभिन्न विद्यालय र कलेजमा पनि लगानी गरेका छन् । वार्षिक डेढ अर्ब रुपैयाँको कारोबार गर्ने लिटिल एञ्जल्ससँग सयौं रोपनी जग्गा छ, जसको भ्यालुएसन अर्बौंको छ ।

    श्रेष्ठको लगानीमा ९ वटा जलविद्युत् आयोजना अघि बढेका छन् भने केही आयोजनाले बिजुली उत्पादन सुरु गरिसकेका छन् । त्यसबाहेक उनले पर्यटन क्षेत्रतर्फ चितवनमा सिराइचुली, सेन्ट्रलपार्क लगायतका होटलमा लगानी गरेका छन् भने धुलिखेलको हिमालयन दृश्य रिसोर्टमा पनि लगानी गरेका छन् । हालैमात्र श्रेष्ठ र मिनबहादुर गुरुङले दरबारमार्गमा रहेको अन्नपूर्ण होटल किनेर अन्नपूर्ण स्क्वायर होटल निर्माणको शिलान्यास गरिसकेका छन् ।

    त्यसबाहेक उनले कृषि क्षेत्रमा पनि लगानी बिस्तार गरेका छन् । जुम्लामा स्याउखेती देखि चितवनमा कृषि फार्म र कोल्डस्टोर पनि सुरु गरिरहेका छन् । सोलर, हाइड्रो लगायतका नेपालको नवीकरणीय ऊर्जाका साथै चार्जिङ् स्टेसन र नवीकरणीय ऊर्जासम्बन्धी नवीनतम प्रविधिमा काम गर्ने लक्ष्यका साथ रिन्यु होल्डिङ्स पनि श्रेष्ठले सञ्चालन गरिरहेका छन् । रिन्यु होल्डिङ्सले हालैमात्र भाटभटेनी सुपरमार्केटको छतबाट करिब १३ मेगावाट सौर्य उर्जा निकाल्ने सम्झौता गरिसकेको छ । हाल उनको नेतृत्वमा जनमैत्री अस्पताल र महेन्द्र नारायण निधि अस्पताल पनि सञ्चालनमा छन् ।

    नेपाली कांग्रेसबाट अत्याधिक अवसर पाउने व्यवसायीका रुपमा श्रेष्ठ परिचित छन्। उनी कांग्रेस सभापति शेरबहादुर देउवाका अत्यन्तै निकटका विश्वासपात्र मानिन्छन् । अविवाहित श्रेष्ठले लिटिल एञ्जल्स विद्यालयलाई विश्वविद्यालय बनाउने र आफ्नो बाँकी सम्पत्ति ट्रस्टका नाममा राखेर सरकारलाई हस्तान्तरण गर्ने योजना समेत बनाएको बताउने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images