images
images
  • बाढीले गरेको कटान रोक्न खटिए सेना र प्रहरी

    रौतहट– पहाडी क्षेत्रमा भइरहेको अविरल वर्षाका कारण आइतबार लालबकैया नदीमा बाढी आएको छ । बाढीले रौतहटको मौलापुर नगरपालिका–१ को मर्यादपुर गाउँनजिक पश्चिमी बाँध कटान गरेको छ । उक्त इलाकाको बाँध करिब सय मिटर कटान गरेर खेतमा पसेको बाढीले केरा खेतीमा क्षति पु¥याएको छ ।

    उक्त क्षेत्रमा बाढीले बिजुलीको एउटा पोल पनि बगाएको छ । बाढी बस्तीमा नपसेको भए पनि उर्लेको भेल देखेर गाउँले त्रासमा छन् । लगातार खेत कटान बढेपछि गाउँलेले स्थानीय प्रशासनलाई गुहारेका छन् ।

    उक्त क्षेत्रमा पुगेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा अधिकारीको टोलीले कटान नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना परिचालन गरेको छ । सुरक्षाकर्मीको टोलीले कटान रोकथाममा खटिएको छ ।

    अहिले उक्त क्षेत्रमा बाँसको पाइलिङ गरेर बोरा राख्ने काम भइरहेको प्रजिअ मिश्रले बताए । ‘कटान रोकथामका लागि साना स्पर जस्तै बाँस र बोरा राख्ने काम भइरहेको छ,’ उनलेभने, ‘बाँसको पाइलिङ र बोराले पानीको बहाव कम हुन्छ र कटान रोकिन्छ ।’
    गत वर्ष पनि यही क्षेत्रमा बाढीले जग्गा कटान गरेको थियो । कटानको जोखिम बढ्दै गएपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न सचेत गराएको छ । कटान गरेको क्षेत्रमा वाग्मती र लालबकैया नदी नियन्त्रण आयोजनाका प्राविधिकहरु समेत खटिएको प्रजिअ मिश्रले जानकारी दिए ।

    केही दिनदेखि भइरहेको वर्षासँगै वाग्मती र लालबकैयामा आएको बाढीले ब्रम्हपुरी, दुर्गाभगवती, माधवनारायण, बौधीमाई र मौलापुर लगायतका क्षेत्रमा गरेको कटान नियन्त्रणको काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images