ललितपुर- अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महाङ्काल गाउँपालिकाकी उपाध्यक्ष डाेल्मा माया गाेलेले सामाजिक उत्तरदायित्वसँग जोडिएका दुई महत्वपूर्ण घोषणा गरेकी छन्। उनले आफूले राज्यबाट पाउने तलब–भत्ता नलिने र प्रयोग गर्दै आएको सरकारी सवारी साधनलाई सामाजिक सेवामा प्रयोग गर्ने निर्णय सार्वजनिक गरेकी हुन्।
उपाध्यक्ष गोलेले महिला दिवसका अवसरमा सार्वजनिक सन्देश जारी गर्दै अबदेखि आफूले राज्यबाट पाउने मासिक तलब–भत्ता नलिने बताइन्। उनका अनुसार उक्त रकम जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला, किसान, शिक्षक, युवा तथा स्वास्थ्य स्वयंसेविका लगायत समुदायका आवश्यक क्षेत्रमा सहयोगस्वरूप खर्च गरिनेछ।
“महिला दिवसको अवसरमा आमा, दिदी–बहिनीलाई साक्षी राखेर मैले राज्यबाट पाउने तलब–भत्ता नलिने निर्णय गरेकी छु,” गोलेले भनिन्, “त्यसबाट आउने रकम समाजका कमजोर तथा आवश्यक क्षेत्रमा सहयोग पुर्याउन प्रयोग गरिनेछ।”
उपाध्यक्ष गोलेले आफूले प्रयोग गर्दै आएको सरकारी सवारी साधनलाई पनि सामाजिक सेवामा प्रयोग गर्ने घोषणा गरेकी छन्। उनका अनुसार परिवारमा सहारा नभएका जेष्ठ नागरिक तथा अपाङ्गता भएका अति विपन्न नागरिकलाई पालिका तथा वडा कार्यालयमा सेवा लिन आउन–जान प्रयाेग गरेर सहज बनाइनेछ। विशेष गरी मासिक वृद्धभत्ता लिन पालिका केन्द्रस्थित बैंकसम्म पुग्न कठिनाइ भोगिरहेका नागरिकलाई सवारी सहयोग उपलब्ध गराइने उनले जानकारी दिइन्।
उनका अनुसार यो सेवा गाउँपालिका भित्रका नागरिकले मात्र उपयोग गर्न पाउने व्यवस्था गरिनेछ। यसका लागि गाउँपालिकाको महिला तथा बालबालिका शाखाले सम्बन्धित वडा अध्यक्ष, जनप्रतिनिधि, वडा सचिव तथा स्वास्थ्य स्वयंसेविकासँग समन्वय गरेर आवश्यक नागरिकलाई सेवा उपलब्ध गराउने तयारी गरिएको छ।
गोलेले नागरिकलाई सम्बोधन गर्दै आपत्–विपत् र दुःखमा सधैं साथ रहने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्। “खुलेर भन्नुहोस्, तपाईंहरूको आपत्–विपत् र पीडामा म सधैं साथ रहनेछु,” उनले भनिन्।
उपाध्यक्ष गोले विगतदेखि नै सामाजिक तथा विकास निर्माणका काममा सक्रिय जनप्रतिनिधिका रूपमा चिनिन्छिन्। उनले गृहणी महिलालाई स्व–रोजगार बनाउने उद्देश्यले विभिन्न सिपमूलक तालिम सञ्चालन गर्दै आएकी छन्। महिला सशक्तीकरणका क्षेत्रमा उनको सक्रिय भूमिका रहेको बताइन्छ।
उनी सन् २०१६ मा संयुक्त राष्ट्र संघबाट “साहसी युवा महिला” का रूपमा सम्मानित भएकी थिइन् भने २०२३ मा अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कारबाट सम्मानित भएकी थिइन्। त्यस्तै २०२४ मा अनलाइनखबरले सार्वजनिक गरेको “४० उत्कृष्ट महिला” सूचीमा पनि उनी परेकी थिइन्।
कर्णाली नामले परिचित दक्षिण ललितपुर क्षेत्रमा सडक, कृषि, पर्यटन तथा विकास निर्माणका काममा समेत उनको सक्रिय भूमिका रहेको बताइन्छ। विगतमा विभिन्न कारणले अधुरा रहेका कतिपय विकास आयोजनाहरू उनको पहलमा सम्पन्न भएका उदाहरणहरू छन्। महाङ्काल क्षेत्रमा आएको बाढी–पहिरोका बेला उद्धार कार्यमा सक्रिय रूपमा खटिँदा उनी आफैं घाइते समेत भएकी थिइन्। त्यसपछि पनि उनले पीडितहरूको राहत तथा पुनर्वासका काममा निरन्तर सक्रियता देखाएकी थिइन्।
यसैगरी लेले–भारदेउ–चन्दनपुर–ठुलादुर्लुङ सडकको रोक्का भएको बजेट फुकुवा गर्न पनि उनको महत्वपूर्ण पहल रहेको स्थानीयले बताउने गरेका छन्। उनकै पहलमा गाउँपालिकामा किसानलाई अनुदानमा भैंसी वितरण कार्यक्रम समेत निरन्तर सञ्चालन हुँदै आएको छ।
महिला दिवसको अवसरमा गरिएको उनको घोषणा सामाजिक उत्तरदायित्व र जनसेवाप्रतिको प्रतिबद्धताको उदाहरणका रूपमा हेरिएको छ।
प्रदेश सरकारसंग सहकार्य गरेर गोलेले स्थानीय पूर्वाधार विकासमा पनि सक्रिय भूमिका निभाइरहेकी छन्। उनले लेले–चन्दनपुर–ठुलादुलुङ सडक, मध्यमार्गी सडक, चन्दनपुर–ठुलादुलुङ सडकलाई बहुबर्षे सडकमा परिनत गर्न निरन्तर काम गरिरहेकी छन्। यसैगरी, मनिखेल आधारभुत अस्पताल समेत उनको अग्रसरतामा निर्माण सम्पन्न भएर हाल सञ्चालनमा आएको छ।
उक्त अस्पताल निर्माणका क्रममा तत्कालिन सरकारले स्रोत सुनिश्चित नभएको भन्दै केपी ओली नेतृत्वको सरकारले ३४४ स्थानीय तहमा एकैसाथ शिलान्यास गरेको भए पनि त्यसपछिका सरकारले बजेट काटिदिएका थिए। यस्तो कठिन परिस्थिति बाबजुद उपाध्यक्ष गोलेले पहल गरेर अस्पतालको निर्माणलाई अघि बढाइन् र सेवा सञ्चालनमा ल्याइन्।


विश्व खबर 



















