images
images
  • सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ निष्कासन भदौ १५ देखि

    काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्सले १५ भदौदेखि प्रिमियममा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २४४ रुपैयाँमा सेयर निष्कासन गर्न लागेको हो।

    इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिसेयर १०० रुपैयाँमा इन्स्योरेन्सका कर्मचारीहरुका लागि निष्कासन गरिसकेको छ।

    त्यस्तै, सार्वजनिक निष्कासनका लागि स्वीकृति पाएको सेयरको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

    कम्पनीले बाँकी रहेको ९० लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्तालेका लागि निष्कासन गर्न लागेको हो।

    इन्स्योरेन्सको आईपीओमा लगानीकर्ताहरुले १९ भदौसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा निष्कासन अवधि २९ भदौसम्म थप हुनेछ ।

    इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।

    आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले इन्स्योरेन्सलाई ‘इक्राएनपी इस्यूआर रेटिङ त्रिपल बी’ रेटिङ प्रदान गरेको छ । यसले इन्स्योरेन्सको वित्तीय दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

    इन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images