काठमाडौं – भोटेकोशी तथा त्रिशूली नदी प्रणाली आसपासको बाढीबाट प्रभावित हुन सक्ने जलविद्युत् लगायत सूचीकृत कम्पनीको विवरण संकलन गर्न नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ ।
बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित कम्पनीको धितोपत्र कारोबार, बजार पारदर्शिता र लगानीकर्ताको हित संरक्षणमा विशेष सतर्कता अपनाउन बोर्डले नेप्सेलाई निर्देशन दिएको हो ।
बोर्डले प्रभावित हुन सक्ने सूचीकृत कम्पनीको विस्तृत सूची तयार गरी जानकारी गराउन तथा त्यस्ता कम्पनीबाट आयोजनाको अवस्था, सम्पत्ति, उत्पादन, वित्तीय स्थिति र व्यवसायमा परेको प्रभावसम्बन्धी विवरण संकलन गर्न भनेको छ ।
आयोजना क्षतिदेखि पुनः सञ्चालनसम्मको विवरण माग
बोर्डले प्रभावित कम्पनीबाट आयोजना प्रभावित भएको स्थान, प्राकृतिक विपद्को मिति र प्रकृति, प्रारम्भिक भौतिक क्षति तथा विद्युत् उत्पादनमा परेको असरको विवरण लिन भनेको छ ।
त्यस्तै, उत्पादन क्षमतामा परेको असर, जनशक्तिमा भएको क्षति, प्रसारण तथा वितरण संरचनामा परेको प्रभाव, बीमा गरिएको वा नगरिएको अवस्था र बीमा दाबीको विवरणसमेत सार्वजनिक गराउन निर्देशन दिइएको छ ।
कम्पनीको प्रारम्भिक वित्तीय प्रभाव, आयोजना पुनः सञ्चालन हुन सक्ने अनुमानित समय, बैंक ऋण तथा ऋण तिर्न सक्ने क्षमतामा पर्न सक्ने असर र व्यवस्थापनले तत्काल चालेका कदमसम्बन्धी विवरणसमेत सार्वजनिक गर्न बोर्डले भनेको छ ।
अस्वाभाविक कारोबारमा विशेष निगरानी
प्राकृतिक विपद्बाट प्रभावित कम्पनीको शेयर कारोबारमा विशेष निगरानी राख्न पनि बोर्डले नेप्सेलाई निर्देशन दिएको छ ।
बोर्डले त्यस्ता कम्पनीको शेयर मूल्यमा हुने अस्वाभाविक परिवर्तन, असामान्य कारोबार परिमाण तथा अस्वाभाविक खरिद–बिक्री आदेशको निरन्तर अनुगमन गर्न भनेको छ ।
त्यस्तै, कम्पनीको महत्वपूर्ण सूचना सार्वजनिक हुनुअघि भएको असामान्य कारोबार र बजारको निष्पक्षता तथा पारदर्शितामा असर पार्न सक्ने अन्य गतिविधिमाथि समेत निगरानी राख्न निर्देशन दिइएको छ ।
विपद्पछिको कारोबारका लागि कार्यविधि बनाउन निर्देशन
बोर्डले प्राकृतिक विपद्, दुर्घटना, आगलागी, भूकम्पलगायत असाधारण घटनाबाट सूचीकृत कम्पनीमा पर्न सक्ने अल्पकालीन तथा दीर्घकालीन असरलाई ध्यानमा राखी सूचना प्रवाह तथा कारोबार रोक्का र पुनः सञ्चालनसम्बन्धी कार्यविधि तयार गर्नसमेत भनेको छ ।
प्रभावित कम्पनीको अवस्थाबारे गरिएको कामको प्रगति र बजारमा देखिएका असामान्य गतिविधिसम्बन्धी विवरण नियमित रूपमा बोर्डलाई उपलब्ध गराउन नेप्सेलाई निर्देशन दिइएको छ ।
धितोपत्र बोर्डले सूचीकृत कम्पनी, नेप्से तथा बजारका अन्य सरोकारवालाको नियमन र अनुगमनमार्फत धितोपत्र कारोबारलाई व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने काम गर्दै आएको जनाएको छ ।


विश्व खबर 
















