images
images
  • नेपालमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको एआईआईबी अध्यक्षसँग आग्रह

    काठमाडौं – अर्थमन्त्री एवं एसियाली पूर्वाधार लगानी बैंकका लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्लेले नेपालमा पूर्वाधार तथा पुनर्निर्माणका क्षेत्रमा लगानी विस्तार गर्न एआईआईबीकी अध्यक्ष जोउ जियायीलाई आग्रह गरेको छ ।

    एआईआईबीको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन कतारको दोहा पुग्नुभएका अर्थमन्त्री वाग्ले र अध्यक्ष जोउबीच भएको भेटवार्तामा नेपालको विकास तथा विपद्पछिको पुनर्निर्माणमा बैंकको सहयोग विस्तारबारे छलफल भएको हो ।

    भेटमा अर्थमन्त्री वाग्लेले हालै भोटेकोशी नदीमा आएको बाढीबाट नेपालमा भएको मानवीय तथा भौतिक क्षतिको पुनर्निर्माणमा सहयोग गर्न एआईआईबीलाई आग्रह गरे । उनले नेपालमा बैंकको लगानी विस्तारसँगै सहुलियतपूर्ण वित्तीय पहुँच बढाउनसमेत आग्रह गरे ।

    जवाफमा एआईआईबी अध्यक्ष जोउले भोटेकोशी बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्पछिको उत्थानशील पुनर्निर्माणमा बैंकका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

    परियोजना तयारीमा अनुदान, ऋणमा सहुलियतको प्रस्ताव

    अध्यक्ष जोउले एआईआईबीको परियोजना तयारी विशेष कोषमार्फत नेपालका परियोजना तयारीका लागि अनुदान उपलब्ध गराउने जानकारी दिए । विशेष कोषअन्तर्गत प्राप्त अनुदान प्रयोग गरी नेपाललाई उपलब्ध गराइने ऋणलाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने उनको भनाइ थियो ।

    नेपाल एआईआईबीको संस्थापक सदस्य राष्ट्र भएकाले आर्थिक विकासका क्षेत्रमा थप सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि अध्यक्ष जोउले दोहोर्‍याए ।

    अर्थमन्त्री वाग्लेले नयाँ अध्यक्ष जोउलाई बधाई दिँदै नेपाललाई एआईआईबीले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे ।

    विद्युत् र सडक आयोजनालाई गति दिन आग्रह

    भेटका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबीको लगानीमा सञ्चालनमा रहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र द्रुतमार्गसम्बन्धी अध्ययन शीघ्र सम्पन्न गर्न आग्रह गरे ।

    उहाँले एआईआईबीको लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा बाढीले पुर्‍याएको क्षतिप्रति समेत दुःख व्यक्त गरे ।

    अर्थमन्त्रीले मध्यमकालीन तथा दीर्घकालीन सहायताअन्तर्गत हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक तथा डिजिटल पूर्वाधार विकासमा एआईआईबीको स्रोत परिचालन गर्न आग्रह गरे ।

    उनले आवश्यकताअनुसार अन्य दातृ निकायका स्रोतसमेत परिचालन गरी नेपालको पूर्वाधार विकासमा सहकार्य विस्तार गर्न अनुरोध गरे ।

    एआईआईबी अध्यक्षलाई नेपाल भ्रमणको निमन्त्रणा

    छलफलका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबी अध्यक्ष जोउलाई सन् २०२६ भित्र नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिए ।

    नेपालले एआईआईबीबाट पूर्वाधार विकास तथा ऊर्जा क्षेत्रमा प्राप्त गर्दै आएको सहयोगलाई थप विस्तार गर्ने र विपद्पछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालन गर्ने विषय भेटवार्ताको मुख्य प्राथमिकतामा रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images