काठमाडौं – नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त भएका छन् ।
इसेवा सञ्चालक समितिको गत भदौ ३० गते बसेको बैठकले शर्मालाई असोज १२ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । शर्माको कार्यकाल चार वर्षको हुनेछ ।
बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको नेतृत्वदायी अनुभव हासिल गरेका शर्मा कारोबार बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण तथा खुद्रा बैंकिङका क्षेत्रमा अनुभवी छन् ।
डिजिटल नवप्रवर्तन, रणनीतिक वृद्धि तथा ग्राहककेन्द्रित सेवा विकासका साथै टोली नेतृत्व र संस्थागत रूपान्तरणमा समेत शर्मासँग लामो अनुभव रहेको इसेवाले जनाएको छ ।
शर्माको बैंकिङ तथा डिजिटल वित्तीय सेवासम्बन्धी अनुभवले इसेवाको आगामी रणनीतिक प्राथमिकता कार्यान्वयनमा योगदान पुग्ने विश्वास कम्पनी सञ्चालक समितिले व्यक्त गरेको छ ।
बदलिँदो ग्राहक आवश्यकता र डिजिटल वित्तीय सेवाको विस्तारसँगै कम्पनीलाई थप सुदृढ बनाउन शर्माको नेतृत्व महत्वपूर्ण हुने इसेवाले जनाएको छ ।
जगदीश खड्काको चारवर्षे कार्यकाल पूरा
यसैबीच, इसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काको चारवर्षे कार्यकाल पूरा भएको छ ।
वि.सं. २०७९ असोज १२ गते प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका खड्काले आफ्नो कार्यकाल पूरा गरेका हुन् ।
खड्काको नेतृत्वमा इसेवाले सेवा, पहुँच तथा डिजिटल वित्तीय सेवाको दायरा विस्तार गरेको कम्पनीले जनाएको छ । उहाँको कार्यकालमा इसेवाका प्रयोगकर्ता, व्यापारी तथा आधिकारिक प्रतिनिधिको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको थियो ।
कम्पनीका अनुसार खड्काको कार्यकालमा इसेवामा दर्ता भएका प्रयोगकर्ताको सङ्ख्या १ करोड ४० लाख तथा व्यापारीको सङ्ख्या ६ लाखभन्दा बढी पुगेको छ ।
यस अवधिमा डिजिटल कर्जा, फाइनान्स ३६०, इसेवा सर्कल, बिजनेस लिङ्क, बिजनेस एप, इन्टेन्ट पे, पात्रो तथा कार्यक्रम सेवा, बिमा सेवा र विभिन्न जीवनशैलीसम्बन्धी सुविधाको विस्तार गरिएको कम्पनीले जनाएको छ।
दृष्टिविहीन नागरिकका लागि ‘टकब्याक’ सुविधा तथा सर्वसाधारणको सहजताका लागि नेपाली भाषामा एप सञ्चालनमा ल्याएर डिजिटल वित्तीय सेवालाई थप पहुँचयोग्य बनाइएको पनि इसेवाले जनाएको छ ।
खड्काको नेतृत्वमा कम्पनीले व्यावसायिक वृद्धि, डिजिटल वित्तीय सेवाको विस्तार, समावेशी वित्तीय पहुँच तथा ग्राहककेन्द्रित नवप्रवर्तनमा काम गरेको इसेवाको भनाइ छ ।


विश्व खबर 
















