images
images
  • विद्युत्मा थपिएको भ्याट हटाउन उद्योग वाणिज्य महासंघको माग

    काठमाडौं – चालु आर्थिक वर्षदेखि विद्युत् महसुलमा लागू गरिएको मूल्य अभिवृद्धि करका कारण उद्योग व्यवसायको उत्पादन लागत बढेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले उक्त व्यवस्था तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

    महासंघले विज्ञप्ति जारी गर्दै विद्युत् औद्योगिक उत्पादन, व्यापार तथा पर्यटन क्षेत्रको आधारभूत आवश्यकता भएकाले यसमा थप कर लगाउँदा उत्पादन लागत, सञ्चालन खर्च, नगद प्रवाह र व्यावसायिक प्रतिस्पर्धामा प्रत्यक्ष असर परेको जनाएको छ ।

    साना उद्योगदेखि होटलसम्म प्रभावित

    महासंघका अनुसार विद्युत्मा मूल्य अभिवृद्धि कर थपिँदा बढी विद्युत् खपत गर्ने ठूला उद्योगसँगै कर छुट हुने कारोबार गर्ने व्यवसाय, साना तथा मझौला उद्योग र होटल तथा पर्यटन व्यवसाय प्रभावित भएका छन् ।

    विद्युत् जस्तो आधारभूत सेवामा कर थपिँदा उत्पादन लागत बढ्ने र त्यसको भार अन्ततः उपभोक्तासम्म पुग्ने महासंघको भनाइ छ ।

    यसले बजारमा वस्तु तथा सेवाको मूल्य बढाउन थप दबाब सिर्जना गर्न सक्ने पनि महासंघले जनाएको छ ।

    कर समायोजनमा समस्या

    कानुनअनुसार उद्योगले विद्युत्मा तिरेको मूल्य अभिवृद्धि करलाई आफूले तिर्नुपर्ने करबाट घटाउन पाउने व्यवस्था भए पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको महासंघले जनाएको छ ।

    कर समायोजन तथा फिर्ताको प्रक्रिया जटिल र ढिलो हुँदा सबै व्यवसायले विद्युत्मा तिरेको कर तत्काल वा पूर्ण रूपमा समायोजन गर्न नसकेको महासंघको भनाइ छ ।

    यसका कारण व्यवसायीको ठूलो रकम कर प्रणालीमै रोकिँदा दैनिक सञ्चालनका लागि आवश्यक पुँजीमा दबाब परेको महासंघले जनाएको छ ।

    औद्योगिक लगानीमा असर पर्ने दाबी

    सरकारले स्वदेशमै विद्युत्को खपत बढाउने, वस्तु आयात घटाउने तथा निर्यात बढाउने नीति लिइरहेका बेला विद्युत्को लागत बढाउने कर नीतिले औद्योगिकीकरण र निजी क्षेत्रको लगानी विस्तारमा असर पार्ने महासंघले जनाएको छ ।

    सञ्चालन पुँजीमा परेको दबाबका कारण उद्योग व्यवसायले नयाँ लगानी, व्यवसाय विस्तार र रोजगारी सिर्जनामा समेत कठिनाइ भोग्नुपर्ने महासंघको भनाइ छ ।

    भरपर्दो विद्युत् आपूर्तिको माग

    महासंघले करको भार थप्नुको सट्टा उद्योगलाई नियमित, गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न सरकार र नेपाल विद्युत् प्राधिकरणसँग आग्रह गरेको छ ।

    भोल्टेजमा हुने उतारचढाव, अचानक विद्युत् अवरोध तथा अन्य प्राविधिक समस्याका कारण उत्पादन रोकिने र महँगा उपकरणमा क्षति पुग्ने गरेको भन्दै त्यस्ता समस्या समाधान गर्न पनि महासंघले माग गरेको छ ।

    महासंघले विद्युत्मा लागू गरिएको मूल्य अभिवृद्धि करसम्बन्धी व्यवस्था तत्काल पुनरावलोकन गर्न, निजी क्षेत्रसँग छलफल गर्न तथा कर समायोजन र फिर्ताको प्रक्रियालाई सरल, पारदर्शी र समयबद्ध बनाउन सरकारसँग आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images