बुटवल- रुपन्देहीको तिलोत्तमाकी पुष्पा टण्डन मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिमेकी रन्जित भुसाल र उनकी पत्नी लक्ष्मी भुसाल हुन् ।
तिलोत्तमा नगरपालिका–४ ड्राइभरटोलकी ३६ वर्षीया पुष्पालाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दानबहादुर थापाले बताए ।
साउन २६ गते दिउँसो घरबाट निस्किएकी पुष्पा साउन २७ गते सालझण्डीनजिकै फायरलाइन जंगलमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । गुल्मी दरबार गाउँपालिकाकी पुष्पा छोरा र छोरीको साथमा तिलोत्तमामा बस्दै आएकी थिइन् ।पुष्पा चढेर निस्किएको स्कुटर बुटवलको अस्पताल लाइनमा भेटिएको थियो ।
पुष्पाको शव भेटिएलगत्तै परिवार तथा आफन्तले छिमेकीको मिलेमतोमा हत्या गरेर झुन्ड्याएको भन्दै विरोध प्रद्धर्शन गरेका थिए । पुष्पासँग बस्दै आएकी भतिजी रन्जना टण्डनले लेनदेनको विषयमा विवाद रहेकाले हत्या भएको भन्दै किटानी दिएकी थिइन् ।
रन्जनाका अनुसार पुष्पाले छिमेकी रन्जितलाई एकवर्षअघि १७ लाख रुपैयाँ सापटी दिएकी थिइन् । २ महिनायता पुष्पाले लगातार पैसा मागेकी थिइन् । विवाद हुँदा गत शुक्रबार छिमेकीले प्रहरीको रोहबरमा रकम लेनदेन र गाली बेइज्जतीको विषय मिलाउने मौखिक सहमति गरेका थिए ।
त्यसैदिन पुष्पा एकछिन भन्दै दिउँसो १२ बजे घरबाट निस्केर बेपत्ता भएकी थिइन् । पुष्पाको मृत्युपछि वैदेशिक रोजगारीका सिलसिलामा कोरियामा रहेका श्रीमान् केशव कार्की फर्किएका छन् । पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण आत्महत्या देखिएको प्रहरीको भनाइ छ ।
मंगलबार केशवले छिमेकीविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका थिए । जाहेरी र घटनाको प्रकृति अनुसार बुधबार आरोपितलाई पक्राउ गरी आत्महत्या दुरुत्साहनको मुद्दा अदालतमा दर्ता गरी थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।


विश्व खबर 




















