काठमाडौं- सरकारले सशस्त्र प्रहरीमा वरिष्ठ सईदेखि वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म १ सय ८५ दरबन्दी थपेको छ । साउन ३ को मन्त्रिपरिषद् बैठकले एसएसपीमा मात्रै ११ दरबन्दी सिर्जना गरेको छ, त्यसमा ३ वटा प्राविधिक र ८ वटा इन्फेन्ट्रीतर्फ छन् ।
सशस्त्र प्रहरी मुख्यालयका अनुसार जवानदेखि नायब निरीक्षक (सई) सम्मका केही पद मिलान गरेर एसपीमा ४१, डीएसपीमा २८, इन्स्पेक्टरमा ४७ र वरिष्ठ सईमा ५८ दरबन्दी सिर्जना गरिएको छ । सशस्त्र प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र खड्काले संगठनको कुल दरबन्दीमा संख्या नबढ्ने गरी अधिकृतस्तरमा केही पद थपिएको बताए ।
‘माथिल्लो तहमा सीमित पद हुँदा लामो समयदेखि अधिकृतहरू एउटै पदमा अस्वाभाविक रूपमा लामो समयसम्म बस्नुपर्ने बाध्यता थियो । यसले जनशक्तिको मनोबल उकास्न समस्या पर्नेदेखि संगठनले पाएको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नमा पनि असर पुगेको थियो,’ उनले भने, ‘निरीक्षकमा सेवा प्रवेश गरेका अधिकृत १६/१७ वर्षसम्म सुरु भर्ना तहमै बस्नुपर्ने बाध्यता थियो । बढुवामा देखिएको यो गाँठो फुक्छ ।’
उनका अनुसार नयाँ पद सिर्जनासँगै सहायक हवल्दारदेखि एसएसपीसम्म करिब ६ हजार जनशक्तिको बढुवा गर्ने बाटो खुलेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले इन्स्पेक्टरदेखि नायब महानिरीक्षक (डीआईजी) सम्म करिब ४ हजार ५ सय जनशक्तिको नयाँ पद सिर्जना गर्न गृह मन्त्रालयमा प्रस्ताव गरेका थिए । सीमा सुरक्षा, सशस्त्र प्रहरी अस्पताल र अन्य युनिटमा जनशक्ति अभाव रहेकाले नयाँ पद सिर्जना गर्नुपर्ने उनको प्रस्ताव थियो ।
गृहले प्रस्ताव गरेअनुसार जनशक्ति थप्न नसकिने भन्दै अर्थले बढुवामा देखिएको गाँठो फुकाउन तल्लो दर्जामा संख्या मिलान गर्ने गरी अधिकृतस्तरमा १ सय २७ र वरिष्ठ सईमा ५८ दरबन्दी थप्न सैद्धान्तिक सहमति दिएको थियो । अर्थको सहमतिपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत साउन ३ मा उक्त दरबन्दी सिर्जना गर्ने गरी प्रस्ताव पेस गरेका थिए । -कान्तिपुर दैनिकबाट























