images
images
  • कोदोमा पनि नेपाल परनिर्भर, गत वर्षमा मात्र ५१ करोडको भारतबाट आयात

    काठमाडौं– मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ । युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा खेत बाँझै छन् । यस्तोमा कोदोमा पनि भारतमाथी नै निर्भर हुनुपर्ने अवस्था आएको हो ।

    आर्थिक वर्ष २०७९र८० मा पूर्वीनाका काँकडभिट्टा भएर रु ५१ करोड ३१ लाख २० हजार बराबरको कोदो भारतबाट आयात भएको तथ्याङ्क छ । काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार सो अवधिमा १६ हजार ३५ मेट्रिक टन कोदो आयात गरिएको छ ।

    यसैगरी, गाउँघरमा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानले गाईभैँसीलाई खोले पकाएर खुवाउने गरेको अवस्थामा त्यही फर्सी भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । सूचना अधिकारी ठाकुरका अनुसार आर्थिक वर्ष २०७९र८० मा भारतबाट रु सात करोड ५७ लाख २८ हजार मूल्यको चार हजार सात सय ३३ मेट्रिक टन फर्सी आयात गरिएको छ ।

    कोदो र फर्सीमात्र होइन फापर, खुर्सानी, घिरौला, लौका, करेला, तरुल, भिन्डी, सिमीलगायतका वस्तु भारतबाट आयात गर्ने गरिएको छ । गत आवमा रु १९ करोड ८३ लाखको १२ हजार तीन सय ९९ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट भित्रिएको छ । सोही अवधिमा रु ३१ करोड ९८ लाख बराबरको १९ हजार नौ सय ८८ मेट्रिक टन करेला, रु १८ करोड ७४ लाख ७२ हजारको ११ हजार सात सय १७ मेट्रिक टन भिन्डी र रु आठ करोड ९६ लाख ८० हजार बराबरको पाँच हजार छ सय पाँच मेट्रिक टन सिमी भारतबाट आयात गरिएको ठाकुरले जानकारी दिए ।

    पूर्वीनाकाबाट सोही अवधिमा रु ८० करोड ९९ लाख ८४ हजारको २५ हजार तीन सय १२ मेट्रिक टन प्याज, रु ६० करोड ८१ लाख ६० हजार बराबरको ३८ हजार १० मेट्रिक टन गोलभेँडा, रु दुई करोड ७१ लाख ५२ हजारको एक हजार छ सय ९७ मेट्रिक टन घिरौला, रु चार करोड ९८ लाखको तीन हजार एक सय १३ मेट्रिक टन लौका, रु तीन करोड १० लाख बराबरको एक हजार नौ सय ३८ मेट्रिक टन तरुल र रु तीन करोड ४० लाख ९६ हजारको दुई हजार एक सय ३१ मेट्रिक टन सुठुनी भारतबाट आयात गरिएको तथ्याङ्क छ ।

    सूचना अधिकारी ठाकुरका अनुसार गत आवमा रु ४४ लाख ८० हजारको एक सय १२ मेट्रिक टन फापर, रु छ करोड ६६ लाख ६६ हजार बराबरको दुई हजार ८३ मेट्रिक टन अम्बक र रु ३४ लाखको पानको पात भारतबाट आयात भएको छ । कार्यालयका अनुसार सोही अवधिमा रु १७ करोड ३१ लाख २० हजारको चार हजार तीन सय २८ मेट्रिक टन चामल र रु १७ करोड २८ लाख २४ हजार बराबरको सात हजार दुई सय एक मेट्रिक टन तरबुजा समेत भारतबाट आयात गरिएको छ ।

    पूर्वीनाका काँकडभिट्टाबाट गत आवमा रु छ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात गरिएको छ । रु तीन अर्ब ३५ करोड नौ लाख ८१ हजारको ताजा तरकारी र रु दुई अर्ब ९४ करोड ८१ लाख ६८ हजारको फलफूल आयात गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images