काठमाडौं- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बढुवामा देखिएको समस्या हल गर्न केही हदसम्म सफल भएका छन् ।
एक वर्ष लामो प्रयासपछि सशस्त्रमा एक सय ७५ कर्मचारीको दरबन्दी थप भएको छ । यसले केही हदसम्म सशस्त्रमा देखिएको बढुवा जामको समस्या समाधान हुने भएको छ । यसले सशस्त्र प्रहरीका कर्मचारीमा उत्साह थपिएको छ ।
दरबन्दी थप भएसँगै बढुवा हुन योग्य प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)देखि सहायक हवल्दारसम्मका लागि असार ३१ गते नै सूचना निकालिएको छ ।बढुवाको प्रक्रिया सुरु भइसकेको छ ।
साउन ३ गतेको मन्त्रिपरिषद् बैठकले सशस्त्रमा पद समायोजन र ९८ नयाँ दरबन्दी थप गरेपछि लामो समयदेखि रोकिएको बढुवाको जाम खुलेको हो ।
सशस्त्रमा एसएसपीमा १४, एसपीमा ५८ तथा ९६ जना डिएसपीमा बढुवा हुँदैछन् ।
त्यस्तै, ६२ जना इन्सपेक्टरमा, ६० जना बरिष्ठ सइ, एक सय ३१ जना सई, ३३ जना असइ, ६६ जना बरिष्ठ हवल्दार, १ हजार ९ सय ९२ हवल्दार र ३ हजार ९ सय ३४ जना सहायक हवल्दारमा बढुवा हुनेछन् ।
एसएसपी बढुवामा गंगाराम श्रेष्ठ, राजेश उप्रेती, विकास घिमिरे, भरत खनियाँ, धुव्र कार्की, जनक पुरी, रमेश पाण्डे, नेत्र कार्की, तिर्थ पौडेल लगायत एसपी छन् । उनीहरुमध्ये गंगाराम सर्लाहीमा जुवा खेलेका कारण कारबाहीमा परेका अधिकृत हुन् ।
राजेश उप्रेती रुपन्देहीमा हुँदा अत्याधिक बल प्रया्ेगका कारण विवादमा तानिएका थिए ।त्यस्तै, सिसं नम्बर ३ का सबै एसपीमा बढुवा हुनेछन् भने सिसं नम्बर ७ र ८ का डिएसपीमा बढुवा हुने भएका छन् । यो बढुवासँगै १६ वर्षसम्म एउटै पदमा रहनुपर्ने बाध्यता अब क्रमशः घट्दै जाने भएको छ ।























