सरकारको बजेट १ अर्ब ४२ करोड
काठमाडौं- सामुदायिक विद्यालयले न्युन गुणस्तर र समय गुज्रिएको सेनिटरी प्याड वितरण गरेको गुनासो आएपछि काठमाडौं महानगरले कामपाभित्र ८९ वटै सामुदायिक विद्यालयलाई सचेत गराएको छ ।
सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका छात्रालाई निःशुल्क सेनिटरी प्याड वितरण गरिरहेको छ ।
सरकारले जारी गरेको कार्यविधिमा सेनिटरी प्याडमा प्रयोग हुने कपडा सुती वा मलमलको हुनुपर्ने, कपडाको लम्बाइ कम्तीमा दुई हात र चौडाइ आधा हात हुनुपर्ने, प्याडको गुणस्तरीयताको लागि ९५ प्रतिशत सुती हुनुपर्ने, कपडा अड्काउन प्रयोग हुने खोलमा प्रयोग हुने कपडा कम रङ, कम डाई प्रयोग भएको र सोसिने किसिमकोे हुनुपर्ने उल्लेख छ ।
त्यस्तै, खोलको बनावट पीँधबाट नचुहिने गरी तयार गर्नुपर्ने र खोलमा प्रयोग हुने टाँक वा अन्य सामग्री र बनावट प्रयोगकर्तालाई सहज हुने किसिमको हुनुपर्ने उल्लेख छ ।
तर, देशभरका धेरै विद्यालयले कमसल सामग्री प्रयोग भएको प्याड उपलब्ध गराएको गुनासो आउने गरेको छ ।
विभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले स्थानीय तहको मनपरीका कारण गुणस्तरहीन प्याड प्रयोग गर्न बाध्य भएको आरोप लगाउँदै भने– ‘यो विषय त काठमाडौं महानगरपालिकाको मात्र कहाँ हो र ? देशका धेरैजसो स्थानीय निकायले उपलब्ध गराएको प्याडको बारेमा यस्तै गुनासो छ ।’ उनँले यस विषयमा सरकारले गम्भीर ध्यान दिनुपर्ने बताए ।
कार्यविधिको परिच्छेद ६ को गुनासोसम्बन्धी व्यवस्थामा खरिद गरिएको सेनिटरी प्याडको गुणस्तर पर्याप्त नभएको, सुरक्षित तवरबाट भण्डारण भए नभएको, छात्राहरूको आवश्यकताअनुसारको वितरण भए नभएको, महिनावारी र किशोरी स्वास्थ्यको विषयमा छात्राहरूलाई जानकारी तथा शिक्षा दिने गरे नगरिएको सम्बन्धमा गुनासो संकलन गर्न स्थानीय तह र विद्यालयले आ–आफ्नो हाताभित्र एउटा गुनासो पेटिकाको व्यवस्था गरी गुनासोको सम्बोधन गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
सरकारले आर्थिक वर्ष २०७६/७७ बाट सरकारले देशभरिका सामुदायिक विद्यालयका छात्रालाई सेनिटरी प्याड उपलब्ध गराउन बजेट व्यवस्था गरेको थियो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहपछि सरकारले सो व्यवस्था गरेको थियो । सोही आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत करिब १ अर्ब बढी विनियोजन गरेको थियो ।
कामपाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यको कार्यकालमा २०७७ साल साउनमा महानगरभित्रका सबै सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउने निर्णय भएको थियो ।
सरकारले कक्षा ६ देखि १२ सम्मका करिब १५ लाख छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण गरिरहेको छ । चालु आर्थिक वर्षमा सेनिटरी प्याड खरिद गर्न ४ अर्ब ४२ करोड ६७ लाख रुपियाँ विनियोजन गरेको छ । उक्त रकम वित्तीय हस्तान्तरणअन्तर्गत सीधै स्थानीय तहमा पुग्ने गरेको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ





















