काठमाडौं । नेकपा एमाले यतिबेला विभाजनको डिलमा छ । पार्टी एकताको आव्हान गर्दै गएराती प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले वक्तव्य जारी गरेका छन् । र माधवकुमार नेपाल समूहले विगतदेखि पार्टी एकताका लागि राख्दै आएको बटमलाइन अनुसार पार्टी अध्यक्ष ओलीले २०७५ जेठ ३ अगावैको अवस्थामा फर्किने जनाएका छन् । यसपछि नेपाल पक्षमा रहदै आएका योगेश भट्टराईले वार्ताका लागि बाटो खुलेको प्रतिक्रिया समेत जनाइसकेका छन् । यससँगै एमाले एकताका लागि पुनः अर्को बाटो खुलेको देखिन्छ ।
त्यसो त, नेपाल पक्षको पछिल्लो समय भएको केन्द्रीय समितीको भर्चुअल बैठकमा नेपाल पक्षका योगेश भट्टराई र गोकर्ण विष्टले पार्टी एकताबद्धताकै पक्षमा रहेर कुरा गरेका थिए । भट्टराई र विष्टले आफूहरुले नेता नेपाललाई जानकारी गराएर नै पार्टी अध्यक्ष ओली पक्षका नेताहरुसँग औपचारिक र अनौपचारिक छलफल गरिएको तर, यसविरुद्ध भ्रमपूर्ण सूचनाहरु सम्प्रेषण गरिएको भन्दै असन्तुष्टि पोखेका थिए ।
प्रधानमन्त्रीलाई वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत नदिएका सोमप्रसाद पाण्डेलेपनि आफूले पार्टी एकताबद्धताकै लागि ओलीलाई विश्वासको मत नदिएर दबाब सिर्जना गरेको बताउदै आएका छन् । पाण्डेले आफूले पार्टी अध्यक्ष ओलीलाई विश्वासको मत नदिएर ह्विप् उल्लंघन गरेको र यो अनुशासनहिन विपरीत नै भएको स्वीकार समेत गरेका छन् । पाण्ेडेले पार्टी एकताका लागि नेपाल पक्षका नेता भीम रावल बाहेक अन्य सबैसँग र स्वयम् ओलीसँग पनि आग्रह गर्दै आएको बताएका छन् । उनले पार्टी एकताको पहिलो जिम्मेवारी प्रधानमन्त्री र पार्टी अध्यक्षको हैसियतले ओलीको भएको पनि बताउदै आएका छन् र पार्टी विभाजन नै हुन नहुने पक्षमा पाण्डे छन् ।
यस्तै एमालेका प्रभावशाली नेता सुरेन्द्र पाण्डेपनि पार्टी विभाजनको पक्षमा छैनन् । नेता पाण्डेले पछिल्लो समय नेपाल पक्षको भर्चुअल बैठकमा सहभागी भएपनि सञ्चार माध्यमलाई आफू बैठकमा नरहेको भन्ने सूचना समेत दिदै आएका छन् । तर, अन्य नेताहरुबाट पाण्डे पनि नेपाल पक्षको बैठकमा सहभागी भएको भन्ने कुरा जानकारीमा आउने गरेको छ ।
यसरी नेपाल पक्षका चार प्रभावशाली नेताहरु पार्टी विभाजनको पक्षमा नरहदा नेता नेपाल भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्दै आएका छन् । गएराती पार्टी अध्यक्ष ओलीबाट जेठ २ मै फर्कने भनेर वक्तव्य प्रकाशन भएपछि पनि नेता नेपालले यसलाई सकारात्मकरुपमा लिन सकेका छैनन् ।


विश्व खबर 




















