• प्रधानसेनापति थापा नेतृत्व हस्तान्तरण गर्न आतुर

    काठमाडौं । सेवा निवृत्त हुन ९४ दिनअघि नै प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व हस्तान्तरणको तयारी थालेका छन् । सैनिक ऐन संशोधन गराएर भए पनि आफ्नो पदावधि लम्बाउन सक्ने कुरा आइरहेका बेला प्रधानसेनापति थापाले नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको बताए ।

    आफ्नो एक हजार दिन पूरा भएको अवसरमा सञ्चारकर्मीसँग कुरा गर्दै आइतबार प्रधानसेनापति थापाले नेतृत्व हस्तान्तरणको काम अघि बढाइसकेको बताए । सक्षम कमान्डरलाई नेतृत्व हस्तान्तरण गर्ने उनको भनाई छ ।

    उनले साउन १५ गतेदेखि अवकाशअघिको एक महिने विदा लिने बताएका छन् । प्रधानसेनापति थापाको तीन वर्षे कार्यकाल भदौ २४ गते सकिँदै छ । थापापछि भदौ २५ गतेबाट अहिले बलाधिकृत रथी तथा प्रधानसेनापतिको दोस्रो वरियताका प्रभुराम शर्माले तीन वर्ष नेपाली सेनाको नेतृत्व सम्हाल्ने छन् ।

    प्रधानसेनापति थापाले आफ्नो तीन वर्षे कार्यकालमा मुख्य गरी चार वटा क्षेत्रमा केन्द्रित भई काम भएको बताए । पहिलो काम सैनिक ऐन–२०६३ लगायत कानुन संशोधन गरेको उनले जानकारी दिए । आफ्नो नेतृत्वमा लामो समयदेखि संगठनमा चर्चा हुँदै आइरहेको नेपाली सेनाको नयाँ ढाँचा तीन जोर एक अर्थात् थ्री प्लस वानमा अघि बढाएको पनि उनले बताए ।

    रणनीतिक र विकासको हिसाबमा सेनालाई नदीको बेसिनको आधारमा पूर्व कमान्ड, मध्य कमान्ड र पश्चिम कमान्ड तथा केन्द्रमा रणनीतिक हिसाबमा उपत्यका कमान्ड संरचनामा ढालिएको छ । पूर्वमा कोशी नदीको आधारमा पूर्वी कमान्ड, मध्यमा गण्डकी नदीको आधारमा गण्डकी कमान्ड र पश्चिममा कर्णाली नदीको आधारमा कर्णाली कमान्ड राखिएको छ । सेनामा यसअघि ७ प्रदेशमा ७ पृतना र एउटा उपत्यकामा पृतना गरी ८ पृतना थियो ।

    आफ्नो तेस्रो काम सेनाको पुनःसंरचना रहेको प्रधानसेनापति थापाले बताए । उनले अब तीन जोर एकको आधारमा सम्पूर्ण संगठनको पुनःसंरचना हुने प्रस्ट पारे । उनले सेनालाई कति संख्याभन्दा पनि सेनाको ‘राइट साइज’ कस्तो हो भन्ने मुख्य कुरा रहेको जानकारी दिए । उनले आफ्नो चौथो महत्वपूर्ण कामको रूपमा नेपाली सेनाको भिजन–२०३० लाई लिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्