images
images
  • मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ‘आईपीओ’ आजदेखि खुला

    काठमाडौं- मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ मंगलबारदेखि बिक्री खुला भएको छ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कास गरेको हो।

    यस कम्पनीले जारी पुँजीको ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको आईपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको छ।

    जसअनुसार यस कम्पनीले १ सयअंकित मूल्यमा ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको छ।

    उक्त आईपीओमा दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं. ५, ६, ७ र ८ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। साथै, बिगु गाउँपालिका वडा नं. ४ र कालिन्चोक गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

    सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने २ करोड रुपैयाँ बराबरको सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन भएको छ। जसअनुसार प्रतिसेयर १ सय अंकित दरले २ लाख कित्ता साधारण सेयर वैदेशिक रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री खुला भएको हो।

    स्थानीय बसिन्दाले यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले यसमा साउन २ गतेसम्म आवेदन दिन सकिनेछ।

    सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन १७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
    वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने वैशाख २५ गतेभित्र आवेदन दिन पाउनेछन्। रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।

    स्थानीय बासिन्दाले मनकामना इन्जिनियरिङको रजिष्ट्रर्ड कार्यालय अनामनगर, प्रभु बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, गौरीशंकर गाउँपालिकाको कार्यालय दोलखाबाट आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images